२२ पुस, काठमाडौं ।

विभिन्न श्रेणीमा बर्गीकरण भएका राष्ट्रिय क्रिकेट टोलीका खेलाडीलाई आज नेपाल क्रिकेट सङ्घ क्यानले औपचारिक रुपमा अनुबन्धको सम्झौता गरेको छ । चार श्रेणीमा बर्गिकरण गरी मासिक तलब दिने निर्णय अनुसार क्यानले आज खेलाडीसंग औपचारिक सम्झौता गरेको हो । क्यानले हिजो खेलाडीहरुलाई ४ समुहमा बर्गिकरण गरेर मासिक पारिश्रमिक उपलब्ध गराउने निर्णय गरेको थियो । क्यानले ‘ए’ श्रेणिमा पर्ने खेलाडीलाई ३५ हजार रुपैयाँ, ‘बी’ मा पर्नेलाई २५ हजार, ‘सी’ मा पर्नेलाई १० हजार र ‘डी’ श्रेणिमा पर्ने खेलाडीलाई पाँच हजार रुपैयाँ तलव दिने गरी सम्झौता गर्न लागेको हो ।

nepal t 20

‘ए’ श्रेणिमा कप्तान पारस खड्का, उपकप्तान ज्ञानेन्द्र मल्ल, वसन्त रेग्मी, सुवास खकुरेल, शक्ति गौचन र शरद भेषवाकर छन् । समूह ‘बी’ मा सागर पुन, सोमपाल कामी, विनोद भण्डारी, नरेश बुढाऐर, अमृत भट्टराई र भुवन कार्की छन् भने समूह ‘सी’ मा अरिफ शेख, जितेन्द्र मुखिया, राहुल विश्वकर्मा, प्रदिप ऐरी, अनिल मण्डल र मेहबुब आलम छन् । यसैगरी राजेश पुलामी, करण केसी र रामनरेश गिरी र राजु रिजाललाई समूह ‘डी’ मा राखिएको क्यानले जनाएको छ । क्यानले प्रशिक्षक पुबुदु दासानायकेको सहयोगमा खेलाडीको श्रेणी बर्गिकरण गरेको हो ।

यस्तै डिभिजन थ्रि क्रिकेट जितेको टोलीलाई क्यानका तर्फबाट आज नै पुरस्कृत गरेको छ । टोलीका खेलाडीसहित सबै सदस्यहरुलाई प्रतिव्यक्ति ५० हजार रुपैयाँ प्रदान गरिएको हो । यसैगरी जनवरी १७ देखि नामिबियामा हुने डिभिजन टुको तयारीका लागि भोली दक्षिण अफ्रिका जाने टोलीलाई पनि क्यानले आजै औपचारिक विदाई गरेको छ ।

दक्षिण अफ्रिकामा रहँदा नेपाली क्रिकेट टोलीले स्थानीय बेनोनी नर्थन क्रिकेट क्लवसंग ३ वटा अभ्यास म्याचहरु खेल्नेछ । नेपाली टोलीले पुस २५, २७ र २८ गते बेनोनी क्रिकेट क्लब विरुद्ध मैत्रीपूर्ण खेल खेल्ने तय भएको छ । अभ्यास खेलपछि टोली त्यतैबाट डिभिजन टु खेल्न नामिबिया जाने छ ।