३ फागुन, खोटाङ । 

जलेर मृत्यु भएको भनिएकी खोटाङकी एक युवतीको हत्यापछि जलाइएको खुलासा भएको छ । फेदी–४ की २२ वर्षीया निर्मला भन्ने सुष्मा राईको हत्यापछि जलाइएको प्रहरीले जनाएको छ ।

गत माघ २ गते राति २ बजे उनकै श्रीमान् २४ वर्षीय सुदीप राईले हत्या गरी त्यसलाई ढाकछोप गर्न घरमा आगो लगाएको खुलासा भएको प्रहरी नायब निरीक्षक यादव गौतमले बताउनुभयो । सुष्माको मृत्युपछि माइतीपक्षको जाहेरीका आधारमा सुदीप राई र स्थानीय २७ वर्षीय दुर्गाधन राईलाई माघ १८ गते पक्राउपछि अनुसन्धानका क्रममा हत्या गरिएको खुलासा भएको गौतमको भनाइ छ ।

सुष्माको पेटमा पा“च महिनाको गर्भ रहेको मृत्युपछि शव परीक्षणमा देखिएको अस्पताल स्रोतले जनाएको छ । घटनाको दुई साताअघिमात्र विदेशबाट घर आइपुगेका श्रीमान्सँग यही विषयमा झगडा हुँदा मृत्यु भएको अनुसन्धानमा देखिएको प्रहरीले जनाएको छ ।

दुर्गाधन भने हत्यामा संलग्न नदेखिए पनि सुष्मासँग सम्बन्ध जोडिएकाले पक्राउ गरिएको प्रहरीले जनाएको छ । सुदीपविरुद्ध कर्तव्य ज्यान मुद्दा दर्ता गरेर कारबाही थालिएको गौतमले जानकारी दिए । रासस