६ फागुन, काठमाडौं । 

भारतको बिहारस्थित बैशाली जिल्लाबाट आएकी चन्द्रकलादेवीलाई पशुपतिनाथ मन्दिरमा शिवको दर्शन र पूजाआजा गर्न ११ घन्टा लाग्यो। बिहान चार बजे तिलगंगाभन्दा पूर्वबाट लाममा बसेकी उनी अढाइ बज्दा आर्यघाट छेउमात्र पुग्दै थिइन्। 
पति र दुई वृद्धासँग पहिलोपटक महाशिवरात्रीका लागि पशुपति आएकी उनले मंगलबार भनिन्, ‘बिहान चार बजे लाममा बस्दा अँध्यारै थियो। अझै कति छ थाहा छैन। टाउको, ढाड र कम्मर दुखेर कठिन भइसक्यो।’
लाम सर्दा उठ्नु र नसरे चिसो भुइँमा बस्नु उनीहरूको बाध्यता थियो। चारैजनाले दर्शन र पूजा नगरी केही नखाने भन्दै पानीसमेत नपिएको बताए।

दुई वृद्धालाई पशुपति क्षेत्र विकास कोषले सीधै दर्शन गर्न दिन्छ भन्नेसमेत थाहा नभएर लाममै राखेको चन्द्रकलाले बताइन्। उनले भनिन्, ‘थाहा भएन। कसैले हामीलाई भनेन। दर्शन गर्न यति दु:ख पाइएला भन्ने लागेको थिएन।’
दर्शन गर्न नौ घन्टा लागेको बताउने ललितपुर इमाडोलका राजेन्द्र कार्कीले लाममा बीचबीचबाट मान्छे घुसाउने प्रवृत्तिका कारण आफूले दु:ख पाएको बताए।

Pashupati Nath
गत वर्ष चार घन्टामा दर्शन गर्न पाएको सुनाउँदै उनले भने, ‘गौशालाचोकदेखि जुत्ताचप्पल राख्ने ठाउँसम्म त ठिकै थियो। जुत्ताचप्पल कक्षमा धेरैलाई लाममा छिराएको देखियो। भन्दा पनि कसैले सुनेन।’

मित्रपार्कबाट लाममा बसेको बताउने रमेश काफ्लेलाई पनि दर्शन गर्न ६ घन्टा लाग्यो। नयाँबानेश्वरस्थित एक सहकारीमा काम गर्ने उनले भने, ‘प्रत्येक वर्ष व्यवस्थित दर्शनका लागि कोषले केही सुधार गर्ला भन्ने अपेक्षा गर्दै आउँछु तर मिसम्यानेजमेन्ट नै देख्छु।

महाशिवरात्री आउनु दुईचार दिनअघिदेखि केके न गरेजस्तो देखाएर लाखौं मानिसको लाम र तिनले गर्ने पूजाआजा कसरी व्यवस्थित हुन्छ?’

कोषले पत्रकारसम्मेलन गरी राम्रो व्यवस्थापन छ भन्दै आधादेखि एक घन्टाभित्रै दर्शन गराइने जानकारी दिएको थियो। तर दर्शनार्थी भने कम्तीमा चारदेखि बढीमा नौ घन्टासम्म लाममा बसेको बताउँछन्।

शिवको ज्योतिर्लिंग उत्पन्न भएको रातका रूपमा प्रत्येक फाल्गुनकृष्ण चतुर्दशीको रातलाई महाशिवरात्रीका रूपमा मनाइने भएकाले भारतलगायतका हिन्दु धर्मावलम्बीहरू शिव मन्दिरहरूमा दर्शन, पूजाआजा र भजनकीर्तनका लागि पुग्छन्।
कोषले घन्टौं लाम बसेर मन्दिर प्रवेश गर्न नसक्नेलाई सशुल्क छिटो दर्शन र पूजा गर्ने व्यवस्था मिलाएको थियो। तर यो वर्ष सशुल्क एक हजार रुपैयाँ तिर्नेहरूले पनि डेढ घन्टा लाम लाग्नुपरेको गुनासो गरे।

चाणक्य कलेज अफ म्यानेजमेन्ट भक्तपुरमा कक्षा १२ मा अध्ययनरत चन्द्रमा घिमिरेले डेढ घन्टा लाममा बसेको बताउँदै भनिन्, ‘लाममा बस्नेहरूको पीडा कस्तो होला? कमसेकम एक हजार तिरेपछि सहज दर्शन गर्ने व्यवस्था हुनुपर्‍यो नि।’

उनीसँगै आएका छिमेकी अर्जुन चौलागाईंले मन्दिर परिसरमा दर्शन गर्न पनि समस्या भएको बताए। उनले भने, ‘ढोकानेर पुग्दा सुरक्षाकर्मीले ल ल छिटोछिटो भन्दै त्यता फर्कने होइन, गइहाल्ने भन्दै ठेले।

शिवलिंगसमेत देख्न पाइएन।’ जिफन्ट काठमाडौं शाखाका अध्यक्ष रहेका उनले लगेको बेलपत्रसमेत चढाउन नपाएको र परिवारका लागि फूलप्रसाद ल्याउन नपाएको दु:ख पोखे।

अधिवक्ता युवराज गौतमले केही स्वयंसेवक र स्काउटरले आफ्ना मान्छे लाममा घुसाएको बताए। उनले भने, ‘एकजना ५० वर्षजतिका मानिस प्रेस पास देखाउँदै पसे। पासको पनि दुरुपयोग भएको छ। सच्चा भक्तजन सबेरैदेखि भोकै र प्यासै सातआठ घन्टासम्म लाममा बसेका छन्।’

कोषका सदस्यसचिव गोविन्द टन्डनले भने देखे र बुझेसम्म लाममा समस्या आउन नदिएको जिकिर गरे। लाममा बसेका ७१ वर्षीय वृद्धलाई दर्शनको व्यवस्था मिलाएको सुनाउँदै उनले भने, ‘भीडमा सूचनाको कमी भएर सही व्यवस्थापन नभएको हुनसक्छ।’ आजको अन्नपूर्ण पोस्टमा खबर छ । 

राष्ट्रपतिद्वारा ‘संविधानको कामना’

राष्ट्रपति रामवरण यादवले साँझ ५:११ बजे पशुपतिनाथको दर्शन गरेका छन्।

करिब २० मिनेट पूजा सकेर बाहिरिएपछि उनले सञ्चारकर्मीसँग भने, ‘देशमा दलीय सहमतिबाट शान्ति आओस् र दलीय बेमेल भएकाले तत्काल अग्रसर भएर संविधान निर्माणमा जुट्ने अवसर मिलोस् भनी कामना गरें।’

पूर्वराजा ज्ञानेन्द्रले पनि पशुपतिनाथ पुगी दर्शन र पूजा गरेका थिए।