४ जेठ, काठमाडौं ।

मतगणनाको सुस्तताका कारण चुनाव सकिएको तीन दिन बितिसक्दा बल्ल एकसय तीसभन्दा बढी स्थानीय तहको मात्र मतगणना सकिएको छ । तीनवटा प्रदेशका २ सय ८३ वटा स्थानीय तहका लागि गत वैशाख ३१ मा चुनाव भएको थियो ।

चुनावलगत्तै कतिपय स्थानमा मतगणना सुरु भएपछि परिणाम आउने क्रम भने अत्यन्त ढिलो भएको हो । मतगणनामा ढिलाइ भएको गुनासो बढेपछि निर्वाचन आयोगले बल्ल गणनाका लागि जनशक्ति बढाएको छ । विशेष गरी मुलुकभर नै चासो राखिएका चारवटा महानगरको गणना अत्यन्त ढिलो भएपछि बुधबारबाट थप जनशक्ति परिचालन गरिएको छ ।

काठमाडौंमा १० वटा स्थानबाट मतगणना गर्ने व्यवस्था मिलाउने निर्वाचन आयोगले जनाएको छ । प्रमुख निर्वाचन आयुक्त अयोधीप्रसाद यादवले एक साताभित्र सबै स्थानको मतको अन्तिम परिणाम आइसक्ने जानकारी दिएका छन् ।

मतगणनाको पछिल्लो परिणामअनुसार प्रमुख दुई दल कांग्रेस र एमालेबीच तीव्र प्रतिस्पर्धा देखिएको छ । उनीहरू दुवैले अर्धशतक पूरा गरेका छन् । अर्धसतक पुरा गर्दा दुवै दल अघिपछि भइरहेका छन् । माओवादी केन्द्र भने दुई दलको तुलनामा निकै पछि छ ।

बुधबार रातिसम्म तीन प्रमुखबाहेक अन्य दुइटा दलले पनि आफ्नो खाता खोल्न सफल भएका छन् । धादिङको रुविभ्याली गाउँपालिका प्रमुखमा राप्रपाका चेरुङ गुरुङले जितेका हुन् । नयाँ शक्ति पार्टीले पनि एक स्थानमा आफ्नो उपस्थिति देखाएको छ । नयाँ शक्ति बुचुङ तामाङले रसुवाको पार्वतीकुण्ड गाउँपालिकाको प्रमुख जितेका हुन् ।

स्वतन्त्रहरूले पनि जित्नेक्रम जारी छ । डोल्पाको छार्का ताङसोङ गाउँपालिकामा स्वतन्त्र उम्मेदवार सोनाम गुरुङ विजयी भएका छन् । यसअघि मुस्ताङको दालोमे र डोल्पाकै डोल्पोबुद्धमा स्वतन्त्रले जितेका थिए ।

काठमाडौं उपत्यकाभित्रका नगरको पनि अन्तिम मत परिणाम आउन थालेको छ । बुधबार काठमाडौंको शंखरापुर नगरपालिकामा एमालेका सुवर्ण श्रेष्ठ विजयी भएका छन् । उपत्यकाभित्र यसअघि ललितपुरका दुइटा गाउँपालिकाको मात्र परिणाम आएको थियो ।

चारवटा महानगरपालिकाको काठमाडौं, ललितपुर, भरतपुर र पोखरामा थोरै अन्तरमा प्रतिस्पर्धा भइरहेको छ । चारवटा महानगरमा कांग्रेस–माओवादी र एमाले–राप्रपाका गठबन्धन थिए । प्रारम्भिक मतगणनाको नतिजा हेर्दा गठबन्धन बनाएअनुसार मत नआएको संकेत देखिएको छ । काठमाडौं र ललितपुरको मेयरमा एमालेले अग्रता लिइरहँदा तालमेलमा उठेका राप्रपाका उपमेयरहरूको मत निकै पछाडि छ । आजको कान्तिपुरमा खबर छ ।