हेमन्त गिरी

अनौपचारिक कुराकानीको क्रममा अमेरिका बस्ने एकजना साथीले भने,”काका वडाध्यक्षमा ऊठ्ने रे ! डेढ लाख पठाइसकें । अझ एक लाख पठाइदे भन्नुभाछ । अरु उतै खोज्नुहुन्छ रे ! यताउति गर्दा चार लाख जती खर्च हुन्छ रे !”

मैले सोंच्न थाले । चार लाखले के के हुन सक्छ ? धेरै थोक हुन सक्छ । बिहान बेलुकाको छाक टार्न धौ धौ हुने हजारौं परिवार छन नेपालमा । चार लाखले ति मध्ये एकको लागि स्थायी छाप्रो बन्न सक्छ । भूकम्पले हाल बेहाल भएका हजारौं परिवार बिचल्लीमा छन नेपालमा । चार लाखले उनीहरु मध्ये एक परिवारको जीवन फेरि माथि ऊठ्न सक्छ ।

धेरै थोक हुन्छ चार लाखले । तर चार लाख फगत पानी र कागजमा बर्बाद हुने भयो । पानी यानेकि मदिरा, मासु र भोज । कागज, यानेकि नगद,पर्चा र पम्प्लेट । मलाई लाग्छ चुनावमा उम्मेदवारीको लागि राखिने धरौटी रकम बाहेक अरु खर्च नै लाग्दैन यदि विचार,भिजन र प्रतिवद्धता सकारात्मक र सही छन भने ।

देशभरमा ६६८० वडाध्यक्ष चुनिने स्थानीय निकायको चुनावमा प्रति प्रतिनिधि खर्च दुई लाख (मेयर/उपमेयर/गाउँपालिका प्रमुखले अझ बढ़ी र वडा सदस्यले अलि कम गर्ने खर्चको आधारमा औसत निकालिएको) मात्र राखौं । त्यस हिसाबले (६६८०*२०००००=१३३६००००००) एक अर्ब तेत्तीस करोड़ साठी लाख रूपैयाँ खर्च हुँदो रहेछ ।

आउनुस हिसाब किताब गरौं । नेपालमा कूल ७४४ स्थानीय निकाय छन । १५००० तलब खाने भनिएका वडा प्रमुखले ४ लाखसम्म खर्च गर्न सक्ने ठाउँमा स्थानीय निकाय प्रमुख (मेयर/उपमेयर/गापा प्रमुख/उपप्रमुख) ले अझ बढी खर्च गर्दा हुन । सीधा हिसाब गर्ने हो भने अझ बढ़ी आउँछ,त्यसैले औसतमा हिसाब गरौं ।

देशभरमा ६६८० वडाध्यक्ष चुनिने स्थानीय निकायको चुनावमा प्रति प्रतिनिधि खर्च दुई लाख (मेयर/उपमेयर/गाउँपालिका प्रमुखले अझ बढ़ी र वडा सदस्यले अलि कम गर्ने खर्चको आधारमा औसत निकालिएको) मात्र राखौं । त्यस हिसाबले (६६८०*२०००००=१३३६००००००) एक अर्ब तेत्तीस करोड़ साठी लाख रूपैयाँ खर्च हुँदो रहेछ ।

यो एक दलले गर्ने खर्च हो । यसरी खर्च गर्न सक्ने हामीकहाँ धेरै हैन जम्मा तिन दल छन भनेर मानौं । त्यस हिसाबले खर्च चार अर्ब असी लाख हुँदो रहेछ । अरु अतिरिक्त खर्च आफै अनुमान गरौं ।

अब हिसाब लगाउनोस करिब चार अर्बमा सानो गरीब देशमा के के हुन सक्छ ! कति आयोजना सम्पन्न हुन सक्छन । धुर्मुस-सुन्तलीले बनाए जस्ता कति एकीकृत बस्ती निर्माण हुन सक्छन ! कुलमानलाई सघाउने कति प्रोजेक्ट बन्न सक्छन ! त्यो रकम बैंकमा जम्मा भए मात्रै पनि कति उत्पादक क्षेत्रमा लगानी हुन सक्छ !

एउटा गरीब देशको स्थानीय तहको निर्वाचनको खर्च हेर्नोस त ! निर्वाचन आयोग र सरकारले गर्ने खर्चको हिसाब त बेग्लै छ, त्यतातिर नजाउँ । यो खर्च दलहरुले अनुत्पादक क्षेत्र, अझ सीधा भाषामा भनौं भने भोज भतेर,मासु र मदिरामा गर्ने खर्च हो । मलाई लाग्छ मैले निकालेको न्यूनतम खर्च हो यो । अब भन्नोस, देश कहिले समृद्धिको बाटोमा लाग्छ ? देश कहिले  धनी हुन्छ ?

यसरी खर्च गर्ने मध्ये अधिकांशले जीते पछि आफूले गरेको खर्च असुल्ने चाहना पनि राख्ने होलान,त्यसको लागि छक्का/पंजा पनि गर्ने होलान । हारेकाले ब्याजले डामिएर घरखेत लिलामी गर्ने होलान । यसको घाटा कसलाई छ ? देशलाई हैन ? चुनाव के को लागि हो ? विचारको जीतले विकास ल्याउनको लागि हैन ? हो भने एउटा विपन्न देशमा प्रत्येक चुनावमा पैसाको खोलो किन यसरी बग्छ ?

हामीमध्ये कोहि हाम्राले जिते भनेर रमाइरहेका छौं, कोहि हाम्राले हारे भनेर टाउको समाइरहेका छौं । तर हामीले कस्तो चुनावमा भाग लियौं र यसको परिणाम भोली के आउने छ भन्ने कुरामा चिन्तन गरिरहेका छैनौं । हामीले चुनावको परिणामलाई मात्र हेरिरहेका छौं, देशले भोली भोग्ने परिणामलाई हेरिरहेका छैनौं ।

केहि दिन अघि दक्षिण कोरियामा राष्ट्रपति पदको लागि चुनाव प्रचार प्रसार मैले मेरै आँखाले प्रत्यक्ष देख्ने मौका पाएँ । भिड त्याहाँ पनि थियो, हरेक उम्मेदवारका समर्थक त्यहाँ पनि थिए । तर सवारी साधन रोकिएका थिएनन, मान्छेहरु आ-आफ्ना काममा थिए, अल्मलिएका थिएनन ।

मान्छेहरुले कामबाट छुट्टी लिएर प्रचार प्रसारमा होमिएका पनि थिएनन सायद, सभ्य प्रचार शैली देख्दा लाग्थ्यो- त्याहाँ हाम्रोमा जस्तो पैसाको खोलो पक्कै बग़ेको थिएन होला । प्रचारको लागि सरकारद्वारा नै ठाउँ तोकिएको थियो । पालैपालो ती ठाउँ र मंचहरु उम्मेदवारले प्रयोग गर्दा रहेछन ।

हिसाब लगाउनोस करिब चार अर्बमा सानो गरीब देशमा के के हुन सक्छ ! कति आयोजना सम्पन्न हुन सक्छन । धुर्मुस-सुन्तलीले बनाए जस्ता कति एकीकृत बस्ती निर्माण हुन सक्छन ! कुलमानलाई सघाउने कति प्रोजेक्ट बन्न सक्छन ! त्यो रकम बैंकमा जम्मा भए मात्रै पनि कति उत्पादक क्षेत्रमा लगानी हुन सक्छ !

मैले कोरियासंग हाम्रो देशलाई दाँज्नुको खास कारण छ । कोरियनहरु र कोरियामा लामो समयदेखि बस्दै आएका नेपाली भन्छन- कोरियाको अहिलेको उन्नति मात्र तीस वर्षमा भएको रे ! हामीकहाँ प्रजातन्त्र पुनर्स्थापना भएकै तीस वर्ष पुग्यो । हामीले जस्तै चुनावी संस्कार अंगालेको भए कोरिया आजको कोरिया बन्थ्यो होला ?

कोरियामा चामल नेपालबाट आउँथ्यो रे कुनै समय । आज नेपालमा चामल भारतबाट जान्छ, हामी उसकै भात खाएर उसैलाई गाली गर्न सिपालु भएका छौं । ‘सामसुंग’ फोन कोरियाबाट जान्छ, हामी त्यही फोन प्रयोग गरेर अतिरंजना फैलाउन उद्दत छौं ।

अनि खर्चको खोलो बगाएर मतदाता प्रभावित पार्न सक्ने पैसा अमेरिकामा दु:ख गरिरहेको छोरोबाट नेपाल जान्छ, हामी देश बिगारेर परदेश लखेटेको छोरोबाट चुनाव जित्न पैसा मागिरहेका छौं ।

यस्तै यस्तै चुनावी संस्कार अंगालेर अझै पनि हामी देश समृद्ध बन्नेछ भन्ने दिवा स्वप्न देखिरहेका छौं । यसरी त देश कहिलै बन्दैन हजूर !

एक पटक छातीमा हात राखेर सोचौं, हामीले कस्तो चुनावमा भाग लियौं र यसको परिणाम के हुनेछ भनेर । मत परिणाममा मात्र रमाएर वा अत्तालिएर यथार्थ नबिर्सौं ।