११ जेठ, बनियानी (झापा) । झापाको भद्रपुरमा दुर्लभ जातका अजिङ्गर फेला परेको छ । भद्रपुर नगरपालिका–३ आपगाछीस्थित झिलमिले खोला किनारमा बुधबार सानो आकारको पाइथन मोलुरस अजिङ्गर फेला परेको हो ।

करिब तीन इन्च गोलाइ र ६ फिट लम्बाइ भएको उक्त अजिङ्गरलाई स्थानीयवासीको सहयोगमा प्रहरीले नियन्त्रणमा लिएको वडा प्रहरी कार्यालय भद्रपुरका प्रहरी निरीक्षक कुलप्रसाद चौधरीले जानकारी दिए ।

सो अजिङ्गर जिल्ला वन कार्यालय झापामा बुझाइएको छ । नजिकै रहेको चारकोसे जङ्गलबाट निस्किएको अजिङ्गर केही दिनदेखि गाँउमा देखा पर्दैआएको स्थानीयवासी राजन पौडेलले बताए । झिलमिले खोला किनारमा यसअघि पनि कमन पाइथन अजिङ्गर फेला परिसकेको उनले बताए । रासस