१९ जेठ, काठमाडौं ।

नेपाली कांग्रेस रोल्पाले चर्चित लोकदोहारी गायिका राधिका हमाललाई उम्मेदवार बनाउने निर्णय गरेको छ । उनलाई कांग्रेसले त्रिवेणी गाउँपालिकाको उपाध्यक्ष पदमा उम्मेदवार बनाएको हो । गाउँपालिका अध्यक्षमा भने कांग्रेसले कमल बुढालाई उठाउने निर्णय गरेको छ ।

राष्ट्रिय स्तरका कलाकारहरुलाई विगतमा चुनावी अभियानमा गीत गाउन मात्र प्रयोग गरेपनि कांग्रेसले भने यस पटक उम्मेदवार नै बनाएको छ । प्रस्तुत छ निर्वाचनको तयारी, भागी योजना लगायतको विषयमा केन्द्रीत रहेर लोकदोहोरी गायीका एवं त्रिवणी गाउँपालिकामा उपाध्यक्ष पदकी उम्मेदवार राधिका हमालसँग नेपाली हेडलाइन्सका प्रयास पराजुलीले गरेको कुराकानीः–

उपाध्यक्षको उम्मेदवार बनेपछि कस्तो अनुभव गर्दै हुनुहुन्छ ?
निकै खुसी लागेको छ । मलाई पार्टीले विश्वास गरेर उम्मेदवार बनाएको छ । मलाई माया विश्वास गरेर उम्मेदवार बनाउने पार्टीलाई धन्यवाद दिन चाहन्छु ।

कलाकारबाट कांग्रेसको उम्मेदवार बन्नु भयो नि ?
म सानैदेखि राजनीतिमा अप्रत्य रुपमा सहभागी थिए । मलाई कांग्रेस पार्टी मन पर्छ । मुख्य पेशा गीत संगतीलाई बनाए पनि पार्टीको काममा पनि आवद्ध हुँदै आएको थिए ।

निर्वाचन निकै खर्चिलो बन्दै गएको छ । निर्वाचनमा आर्थिक जोहो कसरी गनुुहुन्छ ?
निर्वाचनमा आर्थिक सहायता आवश्यक छ । देश विदेशबाट सबैले सहयोग गर्ने बचन दिनुभएको छ । राजनीतिक रुपमा पहिलो पटक पाइला सादैछु । आर्थिक सहयोग जुटाउन ठूलो समस्या छैन् ।

निर्वाचनमा क्रममा के–के योजना अगाडि सार्दै हुनुहुन्छ ?
म कलाकार भएर पनि पहिलो पटक निर्वाचनमा उठेको छु । गाउँपालिकाको विकासका लागि भिजन सहित जनताको बीचमा जान्छु । युवाहरुलाई रोजगारी सृजना गर्ने, महिलाहरुको शसक्तिकरण गर्ने र गाउँपालिकालाई नमूना गाउँपालिका बनाउने योजना बनाएको छु । मैले जिते त्रिवेणी गाउँपालिकालाई नमूना गाउँपालिका बनाएर देखाउछु ।

कलाकारहरु राष्ट्रको गहना हुन् भनिन्छ । तर तपाई राजनीतिमा लागिसकेपछि जनताले कुन रुपमा बुझने ?
राष्ट्रको गहना मात्र भएर भएन । मन पर्दा लगाउने, मन नपर्दा थन्क्याउने । मैले विदेशमा भएको एउटा कार्यक्रममा रोल्पाको लागि आर्थिक संकलन गर्ने मौका पाएका थिए । तर मन भएर पनि कार्यान्वयन गर्ने ठाउँमा म थिइन । समाजको विकास राजनीतिबाट मात्र गर्न सकिन्छ ।

तपाईलाई राजनीतिमा लाग्ने प्रेरणा कहाँबाट मिल्यो ?
मेरो घर परिवारको महोल नै राजनीतिक थियो । म सानैदेखि राजनीतिमा झुकाव राख्थे । बुझ्ने भएपछि कांग्रेस पार्टी मन पर्यो । अन्य पार्टीले कलाकारलाई प्रयोग मात्र गर्दै आइएका छन् । तर कांग्रेसले कलाकारलाई माया गर्दै सम्मान पनि गर्दै आएको छ ।