२८ जेठ, भोजपुर । आगामी असार १४ गते हुन लागेको स्थानीय तहको निर्वाचनका लागि भोजपुर जिल्लाभर सुरक्षा व्यवस्थामा कडाइ गरिएको छ ।

जिल्ला सुरक्षा समितिले निर्वाचन सहजरुपमा गर्न र निर्वाचन हित विपरीत गतिविधि हुन नदिन विशेष सुरक्षा अपनाएको हो ।

सुरक्षाका लागि जिल्लाका विभिन्न चोक तथा बजारमा नेपाल प्रहरी र म्यादी प्रहरीलाई २४सै घन्टा तैनाथ गरिएको सुरक्षा समितिका सदस्य एवम् प्रहरी नायब उपरीक्षक काजीकुमार आचार्यले जानकारी दिए ।

छपन्न मतदान केन्द्रलाई सुरक्षाका दृष्टिले संवेदनशील केन्द्र भनेको छ । अन्य ८५ केन्द्र भने सामान्य रहेका छन् । संवेदनशील केन्द्र भनिएकामा चार नेपाल प्रहरी र पाँच म्यादी प्रहरी खटिने भएका हुन् । यसैगरी बाहिरी घेरामा नेपाल प्रहरी, सशस्त्र र नेपाली सेनाको मोबाइल टोली खटाइने भएको छ ।

निर्वाचनमा थप सुरक्षाका लागि नेपाली सेनाका दुईवटा हेलिकप्टरले सुरक्षा दिने व्यवस्था गरिएको छ । भोजपुरका ८१ वडामा ५२ हजार १६ महिलासहित एक लाख पाँच हजार ५५४ मतदाता रहेका छन् । रासस