उच्च रक्तचापबाट पिडित भएका मानिसहरूको संख्या दिनानुदिन बढीरहेको छ । यसले गर्दा हृदयघात तथा अन्य समस्याबाट मानिस धेरै पिडित बनिरहेको छ । सामान्य कुराहरु विचार गर्न नसक्दा हृदयघात तथा अन्य मुटु रोगको कारण उच्च रक्तचापले दु:ख दिने गरेको छ । मानिसको उमेर, रहनसहन, खानपिनलाई विचार गर्ने हो भने मानिस उच्च रक्तचापबाट जोगिन सक्छ । मानिसले सामान्य रूपमा खानपान तथा नियमित व्यवहारलाई विचार गर्न सके रक्तचापबाट बच्न सकिन्छ ।

उच्च रक्तचापका कारणहरु बारे पनि सामान्य मात्र जानकारी राख्न सके यसबाट बच्न सकिन्छ ।

उच्च रक्तचापका कारण:
उमेर: मानिसको उमेरसँगै रक्तचापको सम्भावना पनि बढ्दै जान्छ । जब मानिस बृद्ध अवस्थामा पुग्छ उच्च रक्तचापको जोखीम झन् बढ्न जान्छ । बृद्ध अवस्थामा पुगेका मानिसको धमनीहरूको कडा हुँदै जाँदा उच्च रक्तचापको मात्रालाई बढाउने गर्छ ।

वंशानुगत गुण: मानिसको वंशाणुगत गुणले कारण पनि उच्च रक्तचापको सम्भावना रहन्छ । परिवारमा पहिले देखी नै कोही उच्च रक्तचापको रोगी छ भने नयाँ पुस्तामा पनि सर्ने सम्भावना उत्तिकै हुन्छ ।

लिङ्ग: पुरूषलाई बढी उच्च रक्तचापको खतरा हुन्छ ।

मोटोपन: मानिसको मोटोपनले पनि उच्च रक्तचापको सम्भावनालाई बढाउँछ । मोटो मानिसको शरिरमा रहने बोसोको मात्राले शरिरका धमनीलाई कसिलो बनाउँछ जसले गर्दा शरिरमा रगतको प्रवाह आफ्नै गतिले हुन पाउँदैन र यसले रक्तचापको सम्भावना निम्त्याउँछ ।

नुनको बढी प्रयोग: शरिरमा आवश्यक पर्ने नुनको मात्रा भन्दा बढी नुन प्रयोग गर्नाले पनि उच्च रक्तचापको सम्भावनालाई बढाउँछ । नुनमा रहेको सोडियमले रक्तचापलाई बढाउन मद्दत गर्छ । सकेसम्म ठिक्क मात्रामा नुनको प्रयोग गर्नु स्वास्थ्यका लागी फाइदा जनक हुन्छ ।

रक्सीको प्रयोग: बढी रक्सी पिउने मानिसलाई पनि रक्तचापले चाडै थला पार्न सक्छ ।

तनावपूर्ण जीवन: उच्च रक्तचाप बढाउने अर्को कारण हो तनाव । जति धेरै तनाव त्यतिनै उच्च रक्तचापको समस्या हुने गर्छ ।