११ असार, चितवन । वर्षासँगै पहिरो खस्ने क्रम बढेपछि नारायणगढ–मुग्लिन सडक खण्डमा सोमबारबाट दिउँसोमा पनि यातायात नरोकिने भएको छ ।

विस्तारका क्रममा रहेको सडकको भित्तो काट्न सहज होस् भन्नका लागि गत चैत १४ गतेबाट बिहान १० बजेदेखि अपराह्न ४ बजेसम्म यातायात रोकेर काम गरिँदै आएको थियो । त्यस अघि दिउँसो ११ बजेबाट ३ बजेसम्म सडक रोकिने गरेको थियो ।

गत वर्षको वर्षात्मा पनि असार १ गतेबाट दिउँसोमा पनि आवागमन खुलाइएको थियो । सो सडकको मुग्लिनतर्फको क्षेत्रमा ६० मिटरसम्म अग्ला पहाड काटेर सडक चौडा गर्नुपर्ने भएपछि सवारी आवागमन रोक्नु परेको नारायणगढ–मुग्लिन सडक आयोजनाका इञ्जिनियर शिव खनालले बताउनुभयो । उहाँका अनुसार अझै ८०० मिटर क्षेत्रमा सडक चौडा गर्न भित्तो काट्नुपर्ने काम बाँकी छ ।

प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टले यात्रुले बढी दुःख पाएपछि दिउँसोमा सडक सुचारु गर्न लागिएको बताए । रातको समयमा सडक बन्द गरेर दिउँसो मात्रै सञ्चालन गर्ने तयारी स्थानीय प्रशासनले गरेको छ । रातको समयमा सडकको काम गर्न सकिने बताउँदै उहाँले केही दिनमा रातमा सवारी आवागमन रोकिने बताए ।

मुलुककको पूर्व र पश्चिमका जिल्लामा निर्वाचन नजिकिएकाले मतदातालाई सहज होस् भन्नका लागि केही दिन सडक चौबीसै घण्टा खुल्ला राख्ने उनले बताए । प्रजिअ भट्टले आज राखेको सरोकारवालाको बैठकमा विकल्पका खोजीका लागि जिल्ला ट्राफिक प्रहरी कार्यालय र सडक निर्माण आयोजनालाई जिम्मेवारीसमेत दिइएको छ । ट्राफिक प्रहरीले रातको समयमा सवारी साधन सञ्चालन गर्न सकिन्छ वा सकिँदैन भन्ने बारेमा तीन दिनभित्र प्रतिवेदन बुझाउन भनिएको छ भने सडक सञ्चालन गरेर काम गर्न सकिन्छ वा सकिँदैन भन्ने बारेमा सोही अवधिमा आयोजनालाई प्रतिवेदन बुझाउन भनिएको छ ।

सो सडक आयोजना सम्पन्न हुने समयमा समेत आधामात्रै काम भएपछि सबैको ध्यान आयोजनातर्फ गएको छ । सो सडक हुँदै दैनिक ११ हजार सवारीसाधन आवातजावत गर्ने गर्दछन् । रासस