१३ असार, काठमाडौं । नेपाल र भारतका मौसम विभागका पूर्वानुमान हेर्दा दोस्रो चरणको स्थानीय निर्वाचनका दिन बुधबार सबै क्षेत्रमा मनसुन सक्रिय हुने देखिन्छ। ती पूर्वानुमानले बुधबार मतदान हुने १, ५ र ७ प्रदेशमा नियमित भारी वर्षाको सम्भावना देखाएका छन्। १ नम्बर प्रदेशको तुलनामा ५ र ७ प्रदेशमा बुधबार अपराह्न केही समय वर्षा रोकिने सम्भावना रहेको मौसमविद्ले जनाएका छन्।

मतदानको तयारी गरिरहेका तीनवटै प्रदेशका मतदाताले वर्षाको सामना गर्नुपर्ने मौसमविद्को ठहर छ। यसबाट जोगिन मतदाताले छाता र बर्सादी व्यवस्था गर्नुपर्छ। निर्वाचन आयोगले बिहान ७ देखि ५ बजेसम्म मतदान समय तोकेको छ।

मौसम पूर्वानुमान महाशाखाका मौसमविद् समिर श्रेष्ठले बुधबार मनसुन सक्रिय रहने जानकारी दिए। ‘१ नम्बर प्रदेशमा सबैभन्दा बढी वर्षा हुने देखिन्छ। वर्षा नियमित हुने हाम्रो अनुमान छ’, उनले सोमबार नागरिकसँग भने। यस प्रदेशमा कोसीपूर्वका १३ जिल्ला पर्छन्।

भारतको मौसम विभागको पूर्वानुमानले पूर्वी तराई क्षेत्रमा भन्दा पहाडी क्षेत्रमा बढी वर्षा हुने देखाएको छ। नेपाल र भारतका पूर्वी पहाडी सीमाका सबै क्षेत्रमा बुधबार दिनभर नै वर्षा हुने विभागको अनुमान छ।

श्रेष्ठका अनुसार प्रदेश नम्बर ५ र ७ मा बुधबार बिहानैदेखि वर्षा हुन्छ। मध्याह्नमा एकदुई घन्टा आकाश सफा हुन सक्छ। ‘वर्षा त रोकिँदैन तर एकदुई घन्टा पानी कम हुन सक्छ’, उनले भने, ‘त्यसो त पानी दिनभर नै परिरहन्छ। कम र धेरै मात्र हो।’ आजको नागरिकमा खबर छ ।

भारतको मौसम विभागले नेपालस“ग सीमा जोडिएका विहार, उत्तरप्रदेश र उत्तराखण्डमा बुधबार भारी वर्षा हुने अनुमान गरेको छ। भारतका विहार र उत्तरप्रदेश नेपालका प्रदेश नम्बर १ र ५ स“ग जोडिएका छन्। यस्तै प्रदेश नम्बर ७ सँग जोडिएको उत्तराखण्डमा बुधबार ठूलो वर्षा हुने अनुमान छ।

५ नम्बर प्रदेशमा चितवनदेखि बर्दियाबीचका तराई र पहाडका गरी १२ जिल्ला पर्छन्। यसैगरी प्रदेश नम्बर ७ मा बर्दियादेखि पश्चिमका तराई र पहाडका गरी नौ जिल्ला पर्छन्। भारतको मौसम विभागले बुधबारमात्र नभई बिहीबारसमेत नेपालस“ग सीमा जोडिएका आफ्ना सबै राज्यमा भारी वर्षाको अनुमान गरेको छ।

सरकारले राजपालाई सहभागी गराउने उद्देश्यले स्थानीय निर्वाचन तीन चरणमा गर्न लागेको हो। पहिलो चरणमा वैशाख २९ गते ३, ४ र ६ प्रदेशको चुनाव भएको थिायो। १, ५ र ७ प्रदेशको चुनाव दोस्रो चरण र तेस्रो पटक २ नम्बर प्रदेशको चुनाव असोज २ गते गर्ने निर्णय भएको छ।

औषतभन्दा बढी वर्षा हुने

यसटकको मनसुन लगभग नियमित समयमा जेठ २९ गते नेपाल भित्रिएको थियो तर एक सातापछि मात्र सक्रिय भएको हो। पछिल्ला दिनमा देशभर वर्षा भइरहेको छ। मौसमविद्ले यस वर्षको मनसुन अघिल्ला वर्षको तुलनामा धेरै सक्रिय हुने बताएका छन्। यसको सक्रियतास“गै देशका अधिकांश भूभागमा औषत वर्षा हुने अनुमान गरिएको छ।

सामान्यतया जुनदेखि सेप्टेम्बरसम्मका चार महिनालाई दक्षिण एसियाली मनसुनको अवधि मानिन्छ। यस समयमा नेपालमा वार्षिक वर्षाको करिब ८० प्रतिशत पानी पर्छ। ‘यसपटक अघिल्ला केही वर्षका तुलनामा राम्रो वर्षा हुन्छ जसलाई हामीले सरदर वर्षाका रुपमा अनुमान गरेका छौं’, शाक्यले भने, ‘यसलाई राम्रो वर्षा मानिन्छ।’

महाशाखाका अनुसार नेपालका मध्यपश्चिम र सुदूरपश्चिमका अधिकांश भूभागमा सरदरभन्दा कम र बा“की भूभागमा सरदर वर्षा हुन्छ। सामान्यतया सरदर वर्षा भन्नाले स्थान विशेषको लामो समयको (करिब ३० वर्ष) को औसत वर्षा भन्ने बुझिन्छ। सरदर वर्षाको ९० प्रतिशतदेखि १ सय १० प्रतिशतसम्मलाई सामान्य वर्षा भनिन्छ। योभन्दा कम र बढी वर्षा भएका क्रमशः न्यून र अधिक वर्षा भएको मानिन्छ।

साउथ एसियन क्लाइमेट आउट लुक फोरमको आठौं बैठकले ‘लानिना’ को सक्रियताले यस वर्षको मनसुनमा औसतभन्दा बढी वर्षा हुने निष्कर्ष निकालेको छ। फोरमले दक्षिण एसियाको मध्य तथा दक्षिण–पश्चिम भेगमा बढी पूर्वी तथा दक्षिण–पूर्वी भेगमा औसतभन्दा कम वर्षा हुने जनाएको छ।

गत वर्ष ‘इललिनो’ प्रभावले गर्दा कम वर्षा भएको थियो। सन् २०१४ मा देखिएको इललिनो सन् २०१६ सम्मै कायम रह्यो र खडेरी बनायो।

प्रशान्त महासागरमा पानी औसत तापमानभन्दा बढी तात्ने प्रक्रियालाई ‘इलनिनो’ भनिन्छ भने यसको ठीक विपरीत पानी चिसो हुने प्रक्रियालाई ‘लानिना’ भनिन्छ। यस वर्ष ‘लानिना’ स्थिर भएकाले सरदर वर्षा हुने अनुमान गरिएको शाक्यले जानकारी दिए।

‘लानिना’ को प्रभाव देखा पर्ने बेला भूमध्यरेखास्थित प्रशान्त महासागरको पूर्वीे तथा मध्य क्षेत्रको सतहको पानी औषत तापमानभन्दा बढी चिसो हुने हुँदा त्यस क्षेत्रको वायुमण्डलीय चाप स्ाामान्य अवस्थामा भन्दा बढी हुन्छ।

जापानमा मासिक तीन लाखदेखि पाँच लाख रुपैयाँसम्मको जागिरमा लगाइदिने प्रलोभनमा गिरोहले २३ जनासँग ठगी गरेको छ। गिरोहले एक जनासँग ४० लाख रुपैयाँसम्म असुलेको पाइएको छ।