१ असार, धरान ।

कुनै समय स्तरीय उपचार सेवाका लागि नाम कमाएको धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पछिल्लो समय अस्थिरता र अनियमिताले बदनाम हुन थालेको छ ।

प्रतिष्ठानमा उपचारका लागि पुग्ने सेवाग्राही समेत पछिल्लो समय गुणस्तर खस्कदै गएको गुनासो गर्दछन । प्रतिस्ठानले खरिद गर्ने उपकरण तथा भौतिक निर्माणका क्रममा आर्थिक अनियमिता भएको भन्दै सरोकारवाला निकायमा उजुरी परेपनि छानविन प्रक्रिया अघि बढन सकेको छैन ।

केही समय अघि मात्रै प्रतिस्ठान हाताभित्र एमसिएच भवन केज कन्सल्टेन्सीलाई लागतको डेढ प्रतिशत दिने शर्तमा निर्माण भएको थियो ।

तर प्रतिष्ठानमै क्यान्सर तथा कार्डियोलीजी भवन निर्माणका लागि सोही कन्सल्टेन्सीलाई साढे तीन प्रतिशत दिने गरि सम्झौता गरिएपछि आर्थिक चलखेल भएको भन्दै अख्तियारमा उजुरी परेको छ ।

प्रतिस्ठानले एमआरआई मेशीन खरिद प्रक्रिया अघि बढाउदा समेत अनियमितता भएको भन्दै अर्को उजुरी पनि परेको छ । ८ देखि ९ करोडमा पाइने सो मेशीन खरिदका लागि दोव्वर मुल्यमा खरिद गर्ने गरी सम्झौता गरिएको उजुरीमा दावी गरिएको छ ।

प्रतिष्ठानमा एमडी तहको प्रवेश परिक्षामा समेत अनियमितता गरिएको भन्दै केही विद्यार्थीले अदालत पुगेका छन् । प्रतिष्ठानका उपकुलपति डा. राजकुमार रौनियार लगायतका पदाधिकारीले प्रतिष्ठानको अवस्था सुधारमा पहल नगरेकै कारण प्रतिस्ठानको अवस्था विग्रदै गएको स्थानीयको दावि छ ।

तर विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका पदाधिकारी भने अनियमिता सम्वन्धी उजुरीका बारेमा कुनै प्रतिक्रिया दिएका छैनन् ।