२ साउन, मोरङ ।

पाँच दिनयता बिजुली अनियमित भएको तथा भोल्टेज नभएको जनाउँदै उर्लाबारीबासी आक्रोशित भएका छन् ।

स्थानीयवासी र व्यवसायीसहितको टोलीले आज अपराह्न नेपाल विद्युत प्राधिकरण उर्लाबारीको ध्यानाकर्षण गराएको छ । नेकपा एमालेका जिल्ला सचिवालय सदस्यसमेत रहनुभएका उर्लाबारी–५ का मानबहादुर श्रेष्ठको नेतृत्वमा पुगेको टोलीले प्राधिकरणको ध्यानाकर्षण गराएको हो ।

श्रेष्ठले प्राधिकरणको प्राविधिक समस्या तत्काल समाधान गरेर नियमित बिजुली आपूर्ति गर्ने व्यवस्था मिलाउन माग गरे । उनले अहिलेलाई ध्यानाकर्षण मात्र गरिएको भन्दै अझै केही दिनसम्म यस्तै समस्या रहे आफूहरु आन्दोलित हुन बाध्य हुने चेतावनी दिए ।

उर्लाबारी–४ का व्यवसायी शेखर दाहालले अनियमित विद्युत्का कारण सर्वसाधारणदेखि सबै उद्योगी व्यवसायी समस्यामा परेकाले समयमै समाधान गर्न ध्यानाकर्षण गराए । प्राधिकरण उर्लाबारीका प्रमुख दिगम्बर यादवले झापाको दमकमा रहेको सबस्टेशनको टान्सफर्मर पुरानो भएर भार बढी भएका कारण समस्या आएको बताए ।

उर्लाबारीमा सबस्टेशन नभएका कारण पनि बढी भारले केही दिनयता विद्युत अनियमित हुन गएको बताए । उर्लाबारी शाखाअन्तर्गत सो क्षेत्रमा ३२ हजार उपभोक्ता छन् ।