४ साउन, एजेन्सी ।

गोर्खाल्याण्ड राज्यको माग गर्दै दार्जिलीङमा भइरहेको आन्दोलन अब भारतको राजधानी दिल्ली केन्द्रित हुने भएको छ । मंगलबार कालेम्पुङ्गमा बसेको ‘गोर्खाल्याण्ड मुभमेण्ट कोअर्डिनेशन कमिटी’को बैंठकले दार्जिलीङमा जारी बन्द हड्ताल कायम राख्दै केन्द्रिय सरकारलाई दबाव दिन दिल्ली जाने निर्णय गरेको हो ।

आन्दोलनरत १५ दल र समर्थक बुद्धिजीवी सहभागि बैठकले दिल्लीमै धर्ना, अनशन, सेमिनार गर्नुका साथै केन्द्र सरकारका मन्त्रीहरुलाई भेटेर गोर्खाल्याण्डको पक्षमा लबिङ्ग गर्ने तथा गराउने निर्णय गरेको छ । बैंठकले आन्दोलनलाई अझ सशक्त बनाउनका लागि दुई वटा थप समिति बनाउने निर्णय गरेको छ ।

एउटा समितिले सिक्किमसँग सहयोगका लागि लबिङ गर्ने र अर्को समितिले पश्चिम बंगाल सरकारलाई दबाव दिने र पहाडमा गरिएको खाद्यान्न नाकाबन्दी हटाउन माग गर्ने छ ।

आन्दोलनलाई मार्ग दर्शन गर्ने एक उच्चस्तरीय बुद्धिजीवीहरुको समिति पनि बनाउने कमिटिले निर्णय गरेको छ । छुट्टै राज्य गार्खाल्याण्डको माग गर्दै पाँच हप्ताअघि शुरु भएको आन्दोलनमा नौं जना आन्दोलनकारीको ज्यान गइसकेको छ ।