४ साउन, पोखरा । कास्कीको सिल्दुजुरेमा रहेको अपर मादी जलविद्युत् आयोजनाले विद्युत उत्पादनमा वृद्धि गरेको छ ।

मादी नदीबाट निकालिने २५ मेगावाट क्षमताको सो जलविद्युत् आयोजनाका दुईवटा टर्वाइन सञ्चालन गरिएपछि २४ मेगावाट विद्युत् उत्पादन गरी राष्ट्रिय प्रशारण लाइनमा जोडिएको आयोजनाका को–अर्डिनेटर राजकुमार बरालले जानकारी दिए ।

गत असार १२ गते भीषण वर्षासँगै आएको बाढीले आयोजनामा ठूलो क्षति पु-याएपछि उत्पादन घटेर आठ मेगावाटमा पुगेको थियो । आयोजनाको मर्मतपछि यही साउन १ गतेदेखि पूर्ण क्षमतामा विद्युत् उत्पादन हुनथालेको बरालले बताए ।

करिब रु पाँच अर्ब २८ करोड बराबरको स्वदेशी तथा विदेशी लगानी जुटाई निर्माण शुरु गरिएको सो आयोजना अवधिमा नाकाबन्दी, मधेश आन्दोलन, महाभूकम्प र सुरुङ खन्ने क्रममा पहिरो जाने जस्ता समस्याले लागत बढेर आठ अर्ब रुपैयाँ पुग्न गएको थियो ।

विसं २०६९ साल पुसदेखि शुरु भएको आयोजनाको निर्माण कार्य २०७३ पुस १५ गते सम्पन्न भएको थियो ।