२५ साउन, धनुषा ।

धनुषाको ढक्केबरमा सव स्टेसन निर्माण गरिरहेको ठेकेदार सेन्ट्रल चाइना पावर ग्रिड सिसिपिजीले १५ कात्तिकभित्रमा काम सक्ने प्रतिबद्धता जनाएको छ ।

ऊर्जा मन्त्री महेन्द्र बहादुर शाही, सचिव अनुपकुमार उपाध्याय, नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ सहितको उच्च स्तरीय टोलीले निर्माण स्थलको स्थलगत निरीक्षण गरि निर्माण सक्न ४ बुँदे निर्णय गराएका छन । सिसिपिजीले सव स्टेसन निर्माण १७ कात्तिक (३१ अक्टोबर २०१७) भित्र सक्ने प्रतिबद्धता जनाएको छ ।

ठेकेदारको यस्तो प्रतिबद्धतापछि हिउँदमा लोडसेडिङ अन्त्यका लागि भारतबाट थप विजुली ल्याउन सुनिश्चित भएको मन्त्री शाहीले बताए । सव स्टेसन बनेपछि भारतबाट थप एक सय मेगावाट अन्य स्थानबाटभन्दा सस्तो दरमा ल्याउन सकिन्छ ।

‘एक वर्षमा सव स्टेसन निर्माणको धेरै काम, लोडसेडिङसँग जोडिएको यस सव स्टेसनलाई द्रुत गतीमा काम गरी जसरी पनि तोकिएकै समयमा सक्नु पर्छ, मन्त्री शाहीले भने, ‘काम गर्दा आउने समस्या आयोजनाले समाधान गर्न नसकेमा तत्काल खबर गर्नुहोस्, त्यसलाई समाधान गर्न हामी तयार छौं ।’

प्राधिकरणले भरतपुर–बर्दघाट प्रसारण लाइनको ठेक्का तोडी करिब ३० करोड रुपैयाँ बैंक ग्यारेन्टी जफत गरेपछि सिसिपिजीका जेनेरल प्रोजेक्ट म्यानेजर गेङ जैलिङले प्राधिकरणलाई ढल्केबर सव स्टेसनको काम आंशिकरुपमा रोकिएको जानकारी गराएका थिए ।

आयोजनाको परामर्शदाता पावर ग्रिडले अन्तिम ड्रोइङ आइतबारभित्रमा दिने, गरेको कामको भुत्तानीका बिल सिसिपिजीले उपलब्ध गराउने र त्यसको परामर्शमदाताले रुजु गरि भुत्तानीका लागि एक हप्ताभित्रमा सिफारिस गर्ने लगायतका निर्णय भएका छन् ।

छलफलमा आयोजना, परामर्शदाता र ठेकेदार काम रोकिनुमा एकले अर्कोलाई आरोप लगाउन थालेपछि आक्रोशित बनेका सचिव उपाध्यायले भने, ‘किन काम रोकिएको, कस्का कारणले निर्माण ढिला भयो, एकले अर्कोलाई आरोप लगाएर समस्या समाधान हुन्छ ? काम अझै पनि ढिला भयो भने हामीलाई मान्य हुँदैन, जस्तो सुकै कारबाही गर्न तयार छौं ।’

गत वर्ष प्राधिकरणले हिउँदमा ढल्केबर–मुजफ्फपुर क्रस बोर्डर प्रसारण लाईनमार्फत एक सय ४० मेगावाटसम्म विजुली आयात गरेको थियो । भारतबाट झण्डै तीन सय मेगावाट विजुली आयात भएको थियो ।

प्राधिकरणका कार्यकारी निर्देशक घिसिङले बाँकी काम सबैतर्फबाट तत्काल सुरु गर्न निर्देशन दिए । ‘काम तत्काल सुरु गर्नुहोस्, गरेको कामको भुक्तानी परामर्शदाबाट सिफारिस भएर आउन साथ गर्छौं, उनले भने, ‘यो या त्यो बहाना बनाएर काम रोक्न मिल्दैन ।’

सव स्टेसनका उपकरण सम्पूर्ण आइसकेका छन । सिभिलतर्फको ९० प्रतिशत काम सकिएको छ । इलेक्ट्रिकल उपकरण जडानको ९० प्रतिशत काम सकिएको छ । नियन्त्रण कक्ष रहने भवनको ‘फिनिसिङ, ‘कन्ट्रोल प्यानल’को जडान तथा सञ्चालन, बसबार कनेक्सन लगायतका काम बाँकी छन् ।

सिसिपिजीका जेनेरल प्रोजेक्ट म्यानेजर गेङले एक वर्षमा यति धेरै काम गरेको कम्पनीलाई बाँकी रहेको काम गर्न धेरै समय नै नलाग्ने बताए । ‘ढल्केवर सवस्टेसनको महत्व हामीले पनि बुझेका छौं, यसलाई जतिसक्दो छिट्टो सक्ने तयार छौं, उनले भने ।

मुलुकको प्रसारण प्रणालीलाई सुदृढीकरण तथा नेपाल र भारतबीचको विद्युत व्यापारका लागि ढल्केबरमा सव स्टेसन निर्माण गर्न लागिएको हो । ढल्केबरमा सव स्टेसन बनाउन नसकेपछि अहिले मुजफ्फपुर बिन्दुमा दुई वटा ट्रान्सफर्मर राखी विजुली आयात भइरहेको छ ।

प्राधिकरण र कम्पनीबीच १२ जुन २०१४ मा १५ महिनाभित्र काम सक्ने गरी ठेक्का सम्झौता भएको थियो । तर, ठेकेदारले तोकिएको समयका काम गर्न नसकेपछि ४ पटकसम्म म्याद थप भइसकेको छ ।