२९ साउन, बर्दिया । तीन दिनदेखिको लगातारको वर्षासँगै बबई नदीमा आएको बाढीले नदीको तल्लो तटीय क्षेत्र जलमग्न भएको छ ।

बाढीबाट गुलरिया, बारबर्दिया र ठाकुरबाबा नगरपालिका क्षेत्रलगायत आसपासको बस्ती डुबानमा परेका छन् । बबई नदीको बाढीले ठाकुरबारबा नगरपालिका–२ का २३ वर्षीय सवनी थाङको घर भत्कँदा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख भरत बोहोराले जानकारी दिए ।

यस्तै बाढीले ठाकुरबाबा नगरपालिकास्थित जमनिहा, घोरपित्तत, कमदाहा, झप्कीपुरm वेषत्तपुर, ढुंग्राही, लठहुवा, भैसाखानी, रानीपुर, वर्वत्ता, गोरन्वा, जम्झी, खुन्तीपुरलगायत गाउँ डुबानमा परेका छन् ।

बाढीमा फसेकालाई हेलिकप्टरमार्फट उद्धार गरिएको छ । नेपाली सेना, सशस्त्र प्रहरी बल, नेपाल प्रहरीलगायत सुरक्षाकर्मी उद्धार खटिएका छन् । बाढीबाट उद्धार गरिएका व्यक्तिलाई विभिन्न विद्यालयमा राखिएको छ । उनीहरुले खानासमेत खान नपाएको गुनासो गरेका छन् ।

यसैबीच, गृहमन्त्री जनार्दन शर्मा र पशुपक्षी विकासमन्त्री सन्तकुमार थारुले आज बर्दियाको बाढी प्रभावित क्षेत्रको अवलोकन गरेका छन ।

बाढीग्रस्त क्षेत्रको अवलोकनपछि जिल्ला दैवी प्रकोप उद्धार समितिको बैठकमा गृहमन्त्री शर्माले बाढीमा फसेका व्यक्तिको तत्काल उद्धार गरी राहत उपलब्ध गराउन स्थानीय प्रशासनलाई निर्देशन दिए ।

यसैगरी गृहमन्त्री जनार्दन शर्माले सरकारले बाढी प्रभावितका लागि तत्काल ठोस राहतका कार्यक्रम सञ्चालन गर्ने बताएका छ ।

आज बाँके र बर्दिया जिल्लाको बाढी प्रभावित क्षेत्रको निरीक्षणपछि बाँकेको फत्तेपुरका बाढी प्रभाावितसँगको साक्षात्कारमा उनले दीर्घकालीन योजना बनाएर सुरक्षित ठाउँमा व्यवस्थापन गरिने प्रतिबद्धता व्यक्त गरे ।

गृहमन्त्री शर्माले जिल्लाका सम्पूर्ण सुरक्षा निकायका प्रमुखसँगको बैठकमा सबै शक्ति र स्रोत खर्चेर बाढीपीडितको राहत तथा उद्धार कार्यमा खटिन निर्देशन दिए ।

यसैबीच, उपप्रधानमन्त्री एवम् परराष्ट्रमन्त्री कृष्णबहादुर महराको आग्रहपछि बाँके जिल्लाको सीमा क्षेत्रमा भारतले बनाएको लक्ष्मणपुर बाँधको ढोका भारतले आँधा मात्र खोलेको छ । सो बाँधको पूरै ढोका खोलाउन सम्बद्ध भारतीय पदाधिकारीसँग छलफल भइरहेको बाँकेका सहायक प्रमुख प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर खड्काले बताए । रासस