१ भदौ, एजेन्सी ।

अमेरिकाले पाकिस्तानको काश्मिरमा चरमपन्थी गतिबिधि गर्दै आएको हिजबुल मुजाहिद्दिनलाई आतंकवादी घोषणा गरेको छ । पाकिस्तानी संगठन हिजबुललाई अमेरिकाले विदेशी आतंकवादी संगठन तथा विश्वको आतंकवादी गुट घोषित गरि प्रतिबन्ध लगाएको हो ।

अमेरिकी विदेश बिभागले हिजबुल मुजाहिद्दिनलाई विदेशी आंतकवादी संगठनको सुचिमा राखिएको घोषणा गर्दै अमेरिकी बित्तिय संस्थामार्फत गरिने कारोबारमा प्रतिबन्ध लगाउनुको साथै यस संगठन र उसका नेताका सम्पति समेत रोक्का गरिएको जनाएको बिबिसीले उल्लेख गरेको छ ।

अमेरिकाले हिजबुल मुजाहिद्दिनबिरुद्धको कारवाहि अभियानमा सघाउने पनि जनाएको छ । यसै बर्षको जुन महिनामा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको अमेरिका भ्रमणका क्रममै ट्रम्प प्रशासनले हिजबुल मुजाहिद्दिन र सैयद सलाहुद्दिनलाई विदेशी आतंकवादी घोषणा गरेको थियो ।

यसअघि सन् १९९७ मा अमेरिकाले हरकतुल मुजाहिद्दिन तथा सन् २००१ मा दुई संगठन लश्करे तैयबा र जैशे मोहम्मदलाई पनि आतंकवादीको सुचिमा राखेको थियो । गएको बर्ष कश्मिरमा हिजबुल मुजाहिद्दिनका कमाण्डर बुरहान वानी मारिएपछि पाकिस्तानले उनलाई शहिद घोषणा गरेको थियो ।

अमेरिकाको पछिल्लो कदमले भारत र पाकिस्तानमाथि काश्मिरमा चरमपन्थी गतिबिधि नियन्त्रणमा दबाब बढ्ने ठानिएको छ ।