६ भदौ, काठमाडौं ।

आपूर्ति मन्त्रालयले आगामी भदौ १६ गतेदेखि चाडपर्व लक्षित सुपथमूल्य पसल सञ्चालन गर्ने भएको छ । दँशै, तिहार र छठपर्वको समयमा उपभोक्तालाई राहत दिन आपूर्ति मन्त्रालय अन्तर्गका सार्वजनिक संस्थानहरुले कार्तिक ९ गतेसम्म सुपथ मूल्य पसल सञ्चालन गर्न लागेका हुन् ।

सँधैजसो दँशैमा उपभोक्तालाई आपूर्ति व्यवस्थापनमा समस्या हुने र सहज र सस्तो सामान नपाउने गुनासो बढ्ने गरेकोले एक महिना पहिलेदेखि नै सुपथ मूल्य पसल सञ्चालन गर्न लागिएको आपूर्तिमन्त्री शिवकुमार मण्डलले जानकारी दिए ।

‘नेपाल खाद्य संस्थान, साल्ट ट्रेडिङ्ग कर्पोरेसन र नेशनल ट्रेडिङ्गले छुट सुविधा सहितका सुपथ मूल्य पसल सञ्चालन गर्नेछन्’ उनले भने ‘यसमा विक्री वितरण प्रणाली, अनुगमन र चुहावट नियन्त्रणलाई पनि प्रभावकारी बनाईने छ ।’

सहुलियत पसलहरुमा चामल प्रति परीवार ३० केजि, नुन प्रति परीवार ६ केजि र नुन प्रति परीवार ६ केजिका दरले विक्रीवितरण गरीने छ ।

सहुलियत दरका सुपथ मूल्य पसलहरुमा नुनमा २ रुपैयाँ, चिनीमा ५ रुपैयाँ, बासमति चामल र फापरमा १० रुपैयाँ, बासमति बाहेकका चामलमा ५ रुपैयाँ, खसीबोका र च्यांग्रामा १० रुपैयाँ प्रति केजिका दरले छुट दिएर विक्री हुनेछन् ।

सुपथ मूल्य पसलहरु साल्ट ट्रेडिङ्ग काठमाडौ स्थित ९ स्टल, ३ वटा घुम्ति सेवा पसल, त्रिसुली डिपो, कर्पोरेसनका २२ कार्यालय गरी ३६ ठाउँ स्थान र नेपाल खाद्य संस्थानका सम्बन्धित कार्यालमा सञ्चालन गरिने छ ।