काठमाडौं । ‘म ओली (एमाले अध्यक्ष केपी शर्मा ओली) जीको कदर गर्छु । उहाँको राजनीतिक चातुर्य र क्षमताको प्रशंसक पनि हुँ’, नायिका करिश्मा मानन्धरले भनिन्, ‘तर, उहाँलाई जनताले ८ कक्षा पढेको नेता भन्दा निको लाग्दैन ।’

नयाँ शक्ति पार्टीको राजनीतिमा सक्रिय नायिका करिश्माले सोमबारको कार्यक्रममा आफू ९ कक्षा पढ्न थालेको प्रसंग सुनाएपछि यो खबर मिडियामा ‘भाइरल’ बन्यो ।उनले भनिन्, ‘मैले पढ्न थालेर के महाभारत भयो र ? पढ्ने, लेख्ने र सिक्ने कुरा जहिले, जसले सिक्दा पनि त हुन्छ नि !’

०४२ सालमा ‘सन्तान’ चलचित्रबाट नायिकाका रूपमा देखिएकी करिश्माले त्यसबेला पढ्ने फुर्सद नै पाइनन् । कलकलाउँदो उमेरकी उनलाई कलाकारितामै भ्याइनभ्याइ भयो । ‘७ कक्षा पढ्दापढ्दै कला क्षेत्रमा लागेँ, नभ्याएपछि पढाइ छाडेँ’, उनले भनिन्, ‘यौवनावस्थामा थिएँ, कलाकारितामा डिमान्ड हुने बेला नै त्यही हो, त्यसबेला कला बेच्नमै फुर्सद भएन ।’ आजको अन्नपूर्ण पोस्टमा खबर छ ।

त्यसो त करिश्मा यतिबेला पनि फुर्सदिली छैनन् । तीन दशकभन्दा लामो कलायात्राले आर्जेको उनको ‘नेम र फेम’ आज पनि ‘डिमान्ड’ मा छ । नयाँ शक्तिको जन्मसँगै सुरु गरेको राजनीतिक जिम्मेवारीमा पनि उनी सक्रिय छिन् । सँगै उनले नयाँ प्रोजेक्टमा काम गरिरहेकी छन् ।

चलचित्र निर्मातासम्मको भूमिका पूरा गरेकी उनी लामो समय अमेरिकामा पनि बसिन् । २२ वर्षकै उमेरमा गोरखा दक्षिणबाहुले सम्मानित भइन् । ‘हुनेखाने श्रीमान् भएकैले आजसम्म पाएका अवार्ड, सम्मान र प्रशंसापत्र सँगालेर राखेकी छु’, करिश्माले भनिन्, ‘तर ती अवार्डभन्दा पनि पढाइको आफ्नै महत्व हुँदो रहेछ । त्यसैले पढ्नुपर्छ भन्ने लाग्यो र पढ्न थालेँ ।’

०७२ सालको नाकाबन्दीयता आफूलाई अब्बल राष्ट्रवादीका रूपमा स्थापित गराएका एमाले अध्यक्ष केपी ओलीको प्रसंग कोट्याउँदै उनले भनिन्, ‘ओलीले विभिन्न राजनीतिक आरोप, आक्षेप, वितृष्णा खेप्नुभयो । तर, नाकाबन्दीयता उहाँ नै सबैको नजरमा राष्ट्रवादी हुनुहुन्छ । यो क्षमता, योग्यता र विद्या कुनै युनिभर्सिटीमा पाइँदैन । तर, जनताले ‘८ कक्षा पढेको नेता’ भन्न छाड्दैनन् ।’ उनले आफ्नो ज्ञानको दायरा, योग्यता र सकारात्मक सामाजिक सन्देशका लागि विद्यालय भर्ना भएको पनि बताइन् ।

गत वर्ष ग्यालेक्सी पब्लिक स्कुलबाट ८ कक्षा पास गरेकी उनी यस वर्ष काठमाडौंको मैतीदेवीमा रहेको त्रिवेणी पब्लिक स्कुलमा ९ कक्षामा भर्ना भएकी हुन् । विभिन्न जिम्मेवारी, राजनीति, कला र निजी प्रोजेक्टको काममा व्यस्त हुँदा उनी हरेक दिन विद्यालय जान भ्याउँदिनन् । ‘म ५० प्रतिशतजति हाजिर हुने कोसिसमा छु’, करिश्माले भनिन्, ‘तर, विद्यालय गएको दिन अनुशासित विद्यार्थी भएर पूरा दिन पढ्छु ।’ विद्यालयका लागि उनी बिहान साढे ७ बजे गोदावरीस्थित घरबाट निस्कन्छिन् । ९ बजे विद्यालय पुग्छिन् ।

‘मनैदेखि चाह्यो भने टाढा नजिक, बालक वृद्धा केही हुँदैन’, उनले भनिन्, ‘योङ अवस्थामा कला बिक्थ्यो, अब योग्यताको जरुरत छ, म त्यतै लागेँ ।’यौवनावस्थामा कमाएको चर्चा, दर्जनौं चलचित्रको सफलता, आजसम्म पाइएको स्थानभन्दा आफूभित्रको योग्यता र ज्ञानको निकै महत्व हुने उनको बुझाइ छ । राजनीतिमा अझै पाँच वर्ष कुनै लाभको पद नलिने उनको योजना छ । ‘मैले जनताबीच रहेर काम गर्ने हो’, करिश्माले भनिन्, ‘त्यसका लागि पद किन चाहियो ? ‘

पढ्नमा निकै अरुचिको विषय उनका लागि अप्सनल म्याथ हो । ‘अप्सनल म्याथ निकै गाह्रो, पढ्न झ्याउलाग्दो हुन्छ’, उनले भनिन्, ‘पढ्दा पढौंपढौं लाग्ने पपुलेसन एन्ड इन्भारोमेन्ट एजुकेसन हो । यो विषय मलाई जति पढ्यो झन् पढौं लाग्छ ।’

नायिका करिश्मा आफ्नो पढाइलाई लिएर मिडियाले हल्का प्रचार गरेकोमा भने धेरै खुसी छैनन् । ‘किन यो प्रचारको विषय बनाउनुपर्‍यो, अनेक मान्छेले अनेक उमेरमा पढ्ने-लेख्ने काम गर्छन्, गर्न सक्छन् । यो त राम्रो कुरा हो नि ! पढ्न लेख्नलाई पनि उमेर चाहिन्छ र ? करिश्माले पढ्दैमा आश्चर्यजस्तो किन बनाउनु ? ‘

 

आलोचकहरुलाई करिश्माको जवाफ- डिग्री त छैन तर देशको फिक्री छ

देशको सेवा गर्न राजनीतिमा होमिएँ : करिश्मा मानन्धर