२६ भदौ, काठमाडौं ।

सत्तारुढ नेपाली कांग्रेसले पूर्व सांसदहरुलाई पनि कर्मचारीलाई जस्तै पेन्सन दिनुपर्ने प्रस्ताव गरेको छ । पूर्व पदाधिकारीको सुबिधा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमाथि आज संसदको राज्यव्यवस्था समिति बैठकमा भएको छलफलमा कांग्रेस सांसदहरुले पेन्सनको प्रस्ताव राखेको हो ।

कांग्रेस संसदीय दलकी सचेतक इश्वरी न्यौपाने, अर्जुन जोशी लगायतले सांसदलाई राज्यले पेन्सन लगायत सुबिधा उपलव्ध गराउनुपर्ने र विधेयकमा यो पनि व्यवस्था थप्नुपर्ने माग गरे ।

पेन्सनका बिषयमा एमाले र माओवादी केन्द्रका सांसद भने यसबारे मौन बसेका छन् । सरकारले संसदमा पेश गरेको विधेयकमा पूर्व सांसदलाई पेन्सन दिने व्यवस्था छैन ।

पूर्व राष्ट्रपतिलाई मासिक पचास हजार रुपैयाँ र पूर्व उपराष्ट्रपतिलाई मासिक चालीस हजार रुपैयाँ पेन्सन वृत्ति उपलव्ध गराउने विधेयकको प्रस्ताव छ ।

त्यस्तै पूर्व राष्ट्रपतिलाई काठमाडौं उपत्यकामा आफ्नो वा आफ्नो एकाघरको परिवारको सदस्यको नाममा घर नभएमा मासिक २ लाख रुपैयाँ उपलव्ध गराउने प्रस्ताव छ ।

अन्य पूर्व पदाधिकारीलाई घर भाडा बापत मासिक ५० हजार उपव्ध गराउने प्रस्ताव छ ।पूर्व पदाधिकरी भन्नाले राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, मन्त्रिपरिषदका अध्यक्ष, प्रतिनिधिसभाका सभामुख, राष्ट्रियसभा वा संविधानको अध्यक्ष भई निवृत्त भएको व्यक्तिलाई जनाउने विधेयकमा उल्लेख छ ।

सो विधेयकमा आवश्यक सुझावसहित संशोधन गर्न राज्य व्यवस्था समितिले कांग्रेस सांसद जीवनवहादुर शाहीको संयोजकत्वमा एक उपसमिति गठन गरेको छ ।