२८ भदौ, काठमाडौं । मुलुकभित्र रेलमार्ग तयार भए पनि गुडाउने रेल नहुँदा स्वदेशमै रेल चढ्ने नेपालीको चाहना पूरा हुन अझै समय लाग्ने भएको छ। भारतको जयनगरदेखि जनकपुर हुँदै बर्दिबाससम्मको रेलमार्ग आगामी फागुनमा तयार हुँदैछ । सो ट्र्याकमा सञ्चालन गर्ने रेल भने तयार भएको छैन।

जयनगरबाट सुरु भएर जनकपुर हुँदै बर्दिबास पुग्ने ६९.२ किलोमिटरमध्ये ३५ किलोमिटरमा फागुनदेखि रेल चलाउने योजना रेल विभागको छ । उक्त खण्डको धनुषा कुर्थासम्म ३५ किलोमिटरमा फागुनदेखि रेल चलाउन सकिने विभागका प्रवक्ता प्रकाशभक्त उपाध्यायले बताए । आजको नागरिकमा खबर छ ।

‘फागुनसम्म उक्त ट्र्याक पूर्णरुपमा सम्पन्न हुँदैछ,’ उपाध्यायले नागरिकसँग भने, ‘ट्र्याकमात्र तयार भएर भएन, चलाउन रेल हामीसँग छैन ।’

भारतको आर्थिक तथा प्राविधिक सहयोगमा उक्त रेल लिक बनिरहेको छ । भारतीय पक्षले पनि फागुनसम्म यो रेलमार्ग पूर्ण रुपमा तयार हुने जनाएको छ ।

विभागले उक्त मार्गमा चलाउने रेलको व्यवस्था गर्न भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा प्रस्ताव गरिसकेको छ । मन्त्रालयले अहिलेसम्म कुनै निर्णय गरेको छैन । उक्त लिकमा कसरी रेल चलाउने भन्ने विषयमा छलफल भइरहेको उपाध्यायले बताए ।

नेपाल सरकारले आफ्नै रेल किन्ने वा भाडामा लिने भन्ने विषयमा छलफल भइरहेको छ । ‘अहिलेसम्म हामीसँग रेल चलाएको अनुभव छैन,’ उपाध्यायले भने, ‘आफैं किनेर चलाउने कि भाडामा लिँदा राम्रो होला भनेर छलफल भइरहेको छ ।’

निर्माण सम्पन्न हुनै लागेको उक्त लिकमा कसरी रेल सञ्चालन गर्न सकिन्छ भनेर विभागले अध्ययन समेत गरेको छ। अध्ययन अनुसार उक्त मार्गमा हाल कम्तीमा सात हजार यात्रु दैनिक आवतजावत गर्ने अनुमान छ । त्यसैगरी, प्रशस्त मात्रामा सामान ओसारपसार हुने देखिएको छ ।

विभागले यात्रु बोक्ने कम्तीमा पाँचवटा इन्जिन (लोकेमोटिभ) आवश्यक परेको जानकारी पनि मन्त्रालयलाई गराएको छ । ‘उक्त मार्गमा दैनिक चारवटा इन्जिन सञ्चालन गर्नैपर्छ,’ उपाध्यायले भने, ‘अर्को एक इन्जिन आपतकालीन अवस्थाका लागि तयार गरेर राख्नुपर्ने हुन्छ ।’

त्यसैगरी, सामान बोक्ने चारवटा इन्जिन आवश्यक परेको विभागको भनाइ छ । यात्रुसँगै सामान पनि प्रशस्त मात्रामा हुने, ढुवानी सेवा पनि हुने भएकाले त्यसका लागि कम्तीमा चार वटा इन्जिन आवश्यक पर्ने विभागको ठहर छ ।

इन्जिनसँग आवश्यक पर्ने रेल डिब्बा कति चाहिने भन्ने यकिन भएको छैन । इन्जिनसँग यात्रु र सामान बोक्ने रेल डिब्बा पनि आवश्यक परेको जानकारी विभागले मन्त्रालयलाई गराइसकेको छ । एक डिब्बामा ७२ जनासम्म यात्रु अट्न सक्ने भएकाले आवश्यकता अनुसार डिब्बा किन्ने उपाध्यायले बताए । यी सबै किन्न तीनदेखि चार अर्ब रुपैयाँ आवश्यक पर्ने प्रारम्भिक अनुमान विभागले गरेको छ ।

रेल सञ्चालनको अनुभव नभएकाले हालका लागि नयाँ रेल किन्ने या आउटसोर्सिङ गरेर भाडामा लिने भन्ने विषयमा छलफल भइरहेको उपाध्यायले बताए । ‘हामीसँग अहिले प्राविधिक, दक्ष, चालकदेखि व्यवस्थापनमा खासै अनुभव छैन,’ उपाध्यायले भने, ‘पहिलो रेल भाडामा लिने र त्यसपछिको रेल आफैं किन्ने कि भनेर छलफल भइरहेको छ ।’ उनका अनुसार भाडामा ल्याएमा यहाँ प्राविधिक तालिम र नयाँ रेल सञ्चालनका लागि दक्ष जनशक्ति तयार गर्ने काम भाडामा दिने हुने सर्त राखिने छ । रेलमार्गका लागि बर्दिबास आसपास जग्गा अधिग्रहणमा केही समस्या आएको छ ।

त्यसैगरी, बिहारको जोगबनीदेखि विराटनगरसम्मको ट्र्याक पनि अन्तिम चरणका पुगेको विभागले जनाएको छ । यसको लम्बाइ १८.६ किलोमिटर छ । यो ट्र्याकको नेपालतर्फको अन्तिम १२ सय मिटरमा मुआब्जा निर्धारणमा समस्या देखिएको छ । मुआब्जा कम भएको भन्दै स्थानीयले बुझ्न मानेका छैनन् ।

भारतले आफ्ना दुई सहर जयनगर र जोगबनीलाई नेपालका सहरलाई जोड्ने गरी रेल सञ्चालन गर्न आर्थिक र प्राविधिक सहयोग गरिरहेको छ । जग्गा अधिग्रहण र मुआब्जामा नेपालले सहयोग गरिरहेको छ ।

मुलुकमा विभिन्न रेल मार्गको विषय उठिरहेको भए पनि हाल यी दुई ट्र्याकको गरी ८८ किलोमिटरको काम भइरहेको छ। निर्माणाधीन यी ट्र्याकबाहेक पूर्व–पश्चिम रेलमार्ग, सात सहरलाई भारतसँग जोड्ने रेलमार्ग, काठमाडौंमा मोनोरेल, चीनबाट रसुवागढी हुँदै आउने रेलमार्ग पनि चर्चामा छन्।