२९ भदौ, काठमाडौं । सवारी साधनमा विद्यमान साधारण सङ्केताङ्क चिह्न पाटी (नम्बर प्लेट) हटाई विद्युतीय सङ्केताङ्क चिह्न पाटी (इम्बोस्ड नम्बर प्लेट) राख्दा देवनागरी लिपिमा नेपाली भाषाको प्रयोग प्राविधिक रूपमा सम्भव छ । यो कुनै प्राविधिक विज्ञले गरेको दाबी नभई स्वयम् नेपाल सरकारले नै पुष्टि गरी सार्वजनिक गरेको नमुनाबाट सम्भव रहेको प्रमाणित भएको हो ।

गत महिना अर्थात् २०७४ साउन २५ गतेको नेपाल राजपत्र खण्ड ६७ सङ्ख्या २० को भाग ३ मा प्रकाशित नेपाल सरकार भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको सूचनाअनुसार देवनागरी लिपिमा लेखिएको नेपाली भाषा प्रयोग भएको विद्युतीय सङ्केताङ्क चिह्न पाटी प्राविधिक रूपमा सम्भव रहेको हो । नेपाल सरकारले सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ को दफा १७८ ले दिएको अधिकार प्रयोग गरी सो ऐनको अनुसूची­ २ मा हेरफेर गरी विद्युतीय सङ्केताङ्क चिह्न पाटी विवरण र नमुना नेपाल राजपत्रमा सार्वजनिक गरेको हो । आजको गोरखापत्रमा खबर छ ।

राजपत्रमा उल्लेख भएअनुसार राष्ट्रपतिका लागि बेग्लै ढाँचाको विद्युतीय सङ्केताङ्क चिह्न पाटी रहनेछ । राष्ट्रपतिको सवारी साधनका अगाडि र पछाडि रहने त्यस्तो चिह्न पाटीको ढाँचा र रेखाचित्र पनि राजपत्रमा दिइएको छ ।

रोमन लिपिमा एफडीआर नेपाल, नेपालको निशाना छाप, दुई वटा राष्ट्रिय झन्डा, रोमन लिपिमा एनईपी अङ्कित सुरक्षण चिह्न (होलोग्राम) साथ देवनागरी लिपिमा ‘सङ्घीय गणतन्त्र नेपाल’ र रोमन लिपिमा सङ्ख्या रहने नमुना राष्ट्रपतिको सवारी साधनका लागि तयार पारिएको छ ।

त्यस्तै, उपराष्ट्रपति, प्रधानमन्त्री, प्रधान न्यायाधीश, व्यवस्थापिका–संसद्का सभामुख तथा उपसभामुख र मन्त्रिपरिषद्का सदस्यहरूको सवारी साधनका लागि सेतो पाटीमा रातो रङको अक्षर र अङ्क हुनुपर्ने विशेषता उल्लेख गरिए पनि ती सवारी साधनमा भने देवनागरी लिपिमा नेपाली भाषाका लेखिने कुनै विशेषता छैनन् । त्यसैगरी अन्य सरकारी, सार्वजनिक, निजी र कूटनीतिक नियोगका सवारी साधनमा पनि देवनागरी लिपिमा लेखिने नेपाली भाषाको कुनै अङ्क र अक्षर छैनन् ।

संविधानविपरीत कार्य
नेपाल सङ्घीय गणतन्त्र रहने गरी २०७२ असोज ३ गते जारी नेपालको संविधानअनुरूप संविधान कार्यान्वयनको क्रममा यस्तो परिवर्तन हुन लागेको हो । तर, सरकारले यसरी सङ्केताङ्क चिह्न पाटी परिवर्तन गर्दा संविधानको धारा ७ को प्रतिकूल कार्य गरेको छ । संविधानको धारा ७ मा देवनागरी लिपिमा लेखिने नेपाली भाषा नेपालको सरकारी कामकाजको भाषा हुनेछ भन्ने व्यवस्था छ । तर यस व्यवस्थाविपरीत अनुसूचीमा रोमन लिपिलाई सरकारी कामकाजको भाषा बनाएको छ ।

राजपत्रमा छापिएको मन्त्रालयको सूचनाको बुँदा नम्बर १२ मा ‘इम्बोस्ड सवारी नम्बर प्लेटमा अक्षर र अङ्क अङ्ग्रेजी लिपिमा हुनुपर्नेछ’ भन्ने उल्लेख छ । त्यसका लागि रोमन लिपिको ‘एरियल बोल्ड फन्ट’ लाई नेपाल सरकारले आधिकारिक लिप्य अक्षर मानेको छ ।

नेपालको संविधानले नेपालको सङ्घीय संरचनामा अञ्चललाई मान्यता दिएको छैन, प्रदेशको नयाँ संरचना सिर्जना गरेको छ । पहिले अञ्चलका आधारमा रहेका सङ्केताङ्क चिह्न पाटी परिवर्तन गर्दा प्रदेशका आधारमा हुनुपर्नेमा त्यसो नगरी अञ्चलकै आधारमा दर्ता गर्ने व्यवस्था छ । तर, प्रदेशको निर्वाचन भई नामकरण भएपछि भने प्रदेशकै आधारमा दर्ता हुने व्यवस्था पनि गरिएको छ । यद्यपि यो कार्य अहिलेलाई थाती राखिएको छ ।