२४ असोज, काठमाडौं । नेपाली कांग्रेसका नेता एनपी साउदले लोकतान्त्रिक गठबन्धनभित्र सिट तालमेललाई लिएर कुनै समस्या नआउने स्पष्ट पारेका छन ।

राजधानीको एक साक्षात्कारमा उनले भने– “राष्ट्रवादी, लोकतान्त्रिक र प्रगतिशील शक्तिहरुलाई एक ठाउँमा उभ्याएर प्रजातन्त्र र राष्ट्रियताको रक्षाका लागि काँग्रेस अघि बढ्छ ।” नेता साउदले अहिलेको राजनीतिक धु्रवीकृत बन्दै गएको चर्चा गर्दै वाम गठबन्धन अस्वभाविक भएपनि आफूहरुलाई कुनै फरक नपर्ने बताए ।

नेकपा (एमाले)का नेता रघुवीर महासेठले वाम गठबन्धनले जनताको हितमा काम गर्नुपर्ने बताउँदै वाम एकताको प्रसङ्ग उठिसकेपछि जनतामा खुशी छाएको तथा अन्य विचारधारा बोक्ने जनता पनि खुशी देखिएको बताए । लामो समयदेखिको गृहकार्यपछि मात्र वामपन्थी गठबन्धन र दुई पार्टीबीच एकता प्रयास चलेको उल्लेख गर्दै उनले विगतमा पनि एकतामा आउनका लागि एमालले माओवादीलाई आग्रह गरिएको जानकारी दिए ।

माओवादी केन्द्रका नेता चक्रपाणि खनालले एमाले र माओवादी केन्द्रबीच चुनावमा मिलेर जाँदा कसैले पनि नकारात्मक टिप्पणी गर्नु आवश्यक नरहेको बताउँदै गठबन्धनले चुनावपछि सम्झन लायक राम्रो काम गरेर अघि बढ्ने विश्वास व्यक्त गरे ।

राष्ट्रिय जनता पार्टीका अध्यक्ष मण्डलका सदस्य महेन्द्र राय यादवले काँग्रेस र माओवादी केन्द्रले पहिचानको मुद्दा छोडिसकेको चर्चागर्दै आगामी चुनावमा मुद्दा मिल्नेसँग मात्र तालमेल हुने बताए । उनले आदिवासी, जनजाति तथा मधेशीको मुद्दा अहिले पनि संविधानमा सम्बोधन नभएकाले आफूहरुको संघर्ष बाँकी रहेको धारणा व्यक्त गरे ।

संघीय समाजवादी फोरम नेपालका महासचिव रामसहाय यादवले आफ्नो पार्टीले मधेशवादी जनताको भावनाअनुरुप चुनावमा तालमेल गर्ने बताउँदै समावेशी लोकतन्त्र, धर्मनिरपेक्षताजस्ता आन्दोलनको उपलब्धिलाई रक्षा गर्दै संविधानमा रहेका त्रुटि हटाउने आफ्नो दलको मुख्य चुनावी मुद्दा हुने विचार व्यक्त गरे ।