२७ असोज, जाजरकोट । यहाँका गरिबसँग विश्वेश्वर कार्यक्रमका कर्मचारीले तलब पाएका छैनन् । साउनदेखि अहिलेसम्मको तलब नपाएको कर्मचारीले बताएका छन् ।

जिल्लामा यस कार्यक्रमका छजना कर्मचारी रहेका छन् । अन्य जिल्लाका सबै कर्मचारीले दशैँको तलब, भत्ता बुझे तर आफूले भने तलबसम्म बुझ्न नपाएको छेडागाड नगरपालिकामा कार्यरत रामबहादुर बुढाले बताए ।

सम्बन्धित निकायलाई तलबका लागि अनुरोध गरेपनि तिहार मुखमा आउने समयसम्म तलब पाउन नसकेको त्रिवेणी नलगाड नगरपालिकामा कार्यरत निर्जला रावलले बताए । स्थानीय विकास कोषका लेखापाल उदयबहादुर रानाले अख्तियारी नआउँदा कर्मचारीलाई तलब उपलब्ध गराउन नसकेको बताए ।

साउनदेखि अहिलेसम्म बिना तलब काम गरिरहेको कर्मचारीले गुनासो गरेका छन् ।