२७ असोज, भक्तपुर । नेकपा माओवादी केन्द्रकी प्रवक्ता पम्फा भूसालले बाम गठबन्धन बिदेशीको इशारामा नबनेको बताएकी छिन् ।
रफत सञ्चार क्लबले आयोजना गरेको साक्षात्कार कार्यक्रममा उनले बाम गठबन्धन नेपालका बामपन्थीका साथै नेपालको आवश्यकतालाई ध्यान दिँँदै निर्माण गरेको जिकिर गरिन् ।

उनले निर्वाचनलाई लक्षित गरेर बनेको बाम गठबन्धनमा आवद्ध भएका राजनीतिक दलहरुले आ आफ्नो चुनाव चिन्ह लिएर चुनावमा जाने समेत प्रष्ट पारिन् ।

वर्तमान सरकारको जिम्मेवारी जसरी पनि निर्वाचन सम्पन्न गर्ने रहेकाले आफ्नो पार्टीले निर्वाचनअघि सरकार नछाड्ने उनको भनाई थियो ।
तोकिएकै समयमा निर्वाचन सफल हुने बताउँदै उनले बाम गठबन्धनमा निर्वाचन क्षेत्रका बिषयलाई लिएर बाहिर आएको हल्ला जस्तो नभई छलफल जारी रहेको बताइन् । उनले निर्वाचन नजिकिँदै गर्दा सुरक्षा अवस्थाका बारे उठेका प्रश्नहरुमा सरकारले पूर्णरुपमा सुरक्षा प्रदान गर्न सफल समेत रहेको बताइन् ।