१ कात्तिक, पोखरा । नेकपा एमाले केन्द्रीय सदस्य रवीन्द्र अधिकारीले आगामी निर्वाचनले मुलुक र जनताको भाग्य र भविष्य निर्धारण गर्ने बताएका छन ।

पोखरा लेखनाथ महानगरपालिका वडा नं १७ बिरौटोमा एमालेले स्थापना गरेको निर्वाचन क्षेत्र नं २ ‘क’ कार्यालयको आज उद्घाटन गर्दै उनले एमाले र नेकपा (माओवादी केन्द्र) बीचको तालमेल र एकता नयाँ नेपाल निर्माणका लागि भएको बताए । उनले निर्वाचनमा वामपन्थी गठबन्धनले दुई तिहाइ मतका साथ मुलुक हाँक्ने जिम्मेवारी जनताबाट पाउने विश्वास पनि व्यक्त गरे ।

एमाले कास्कीका अध्यक्ष कृष्ण थापाले प्रतिनिधिसभा र प्रादेशिकसभा निर्वाचनमा कास्की जिल्लालाई लालकिल्ला बनाउने बताउँदै त्यसको तयारीमा जुट्न कार्यकर्तालाई आग्रह गरे ।