४ कात्तिक, काठमाडौं । नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) को बाम गठबन्धनमा राष्ट्रिय जनमोर्चा पनि सामेल भएको छ ।

आशन्न प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनमा प्यूठान र वाग्लुङका केही क्षेत्रमा जनमोर्चालाई ठूला बाम दलले सघाउने भएपछि तीन दलबीच आज सहमति भएको हो ।

सहमतिअनुसार प्यूठानको प्रतिनिधि सभाका जनमोर्चा र प्रदेशका एक/एक क्षेत्रमा एमाले र माओवादी केन्द्रका उम्मेदवार हुनेछन् । यस्तै वाग्लुङका प्रतिनिधि सभा १ र २ मा क्रमशः एमाले र माओवादी केन्द्र तथा सो जिल्लाका चार प्रदेश क्षेत्रमध्ये एमाले र माओवादी केन्द्रलाई एक/एक र बाँकी दुई स्थान मोर्चालाई दिइनेछ ।

सहमतिसँगै देशभर तालमेलको सन्देश प्रवाह गर्न र एकले अर्काेलाई सघाउने तीन दल सहमति भएका छन् । एमालेका अध्यक्ष केपी शर्मा ओली, केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र मोर्चाका कार्यकारी अध्यक्ष रश्मीराज नेपालीले आज संयुक्तरुपमा जारी विज्ञप्तिमा जनाइएको छ ।

गत असोज १७ मा घोषणा भएको वाम गठबन्धनमा नयाँ शक्ति नेपाल भने असन्तुष्ट हुँदै लोकतान्त्रिक गठबन्धनसँग पनि तालमेल गर्ने निष्कर्षमा पुगेको छ ।