२ मंसिर, काठमाडौं ।
नेकपा एमालेले वाम पार्टीका उम्मेदवारमाथि भएका सांघातिक हमलाको योजनामा सरकार नै संलग्न भएको हुनसक्ने आशंका गरेको छ ।

एमाले पार्टी कार्यालय धुम्वाराहीमा शुक्रबार आयोजित पत्रकार सम्मेलनमा एमाले बरिष्ठ नेता झलनाथ खनालले वाम–लोकतान्त्रिक गठबन्धनका उम्मेदवारमाथि छानीछानी आक्रमण हुनु र पक्राउ परेकालाई अनुसन्धानको साटो तुरुन्त रिहा गरिनुले आक्रमणको योजनाकार सरकार नै रहेको आशंका उब्जेको बताए ।

खनालले उम्मेदवारमाथि भएको आक्रमण रहस्यमय भएको भन्दै उम्मेद्वारमाथि सुृरक्षाको ग्यारेन्टी गर्न गम्भीरता भएर लाग्न सरकारसमक्ष आग्रह पनि गरे । उनले बिकास बिरोधीहरुले बामगठबन्धका बारेमा नकारात्मक हल्ला फैलाईरहेको भन्दै मुलुकका राष्ट्रियता अखण्डता र स्वाभिमानलाइ जोगाई राख्न बामगठबन्धन बनेको जिकिर गरे ।

पत्रकार सम्मेलनमा बरिष्ठ नेता खनालले प्रदेश र प्रतिनिधिसभाको निर्वाचनपछि वामपन्थीको सरकार बन्ने दाबी गर्दे वामपन्थीको सरकार आवश्यक रहेको र सरकार बन्न कसैले रोक्न नसक्ने बताए । उनले सरकारको नेतृत्व गर्न आफू पनि तयार रहेको भन्दै यसका लागी ज्योतिशीको साहारा नभई जनताको ईच्छा हुनुपर्ने धारणा राखे ।

खनालले चुनावपछि देश कतै नझुक्ने र नढल्कने भन्दै सगरमाथा जस्तो अटल रहने बताए । त्यस्तै उहाले लोकतान्त्रिक गठबन्धनको आवरणमा कांग्रेस कतै राजतन्त्र र हिन्दु राष्ट्रतिर जाने त होइन भन्ने आशंका रहेको टिप्पणी गरे ।