८ मंसिर, सुर्खेत । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आसन्न चुनावपछि देश नयाँ युगतर्फ अघि बढ्ने बताएका छन ।

फाइल तस्बिर

सुर्खेतको वीरेन्द्रनगरमा बिहीबार आयोजित वाम गठबन्धनको चुनावी आमसभालाई सम्बोधन गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका ओलीले चुनावपछि स्थिर सरकार बन्ने भएकाले देशमा नयाँ युगको सुरुआत हुने जानकारी दिए ।

चुनावलगत्तै वामपन्थीको स्थायी सरकार बन्ने उनको दाबी थियो । वामपन्थीको सरकार देश र जनताका लागि आवश्यक रहेको भन्दै अध्यक्ष ओलीले जनतालाई अधिकार सम्पन्न बनाउन स्थिर सरकार आवश्यक भएको औँल्याए । “वामपन्थीको सरकार बन्नलाई कसैले रोक्न सक्दैन”– उनले भने, “चुनाव पछि पाँच वर्षका लागि स्थिर सरकार बन्छ ।”

अध्यक्ष ओलीले एमाले र माओवादी केन्द्रबीच पार्टी एकीकरण चुनाव अगाडि नै गर्ने योजना भए पनि समय अभावका कारण चुनावपछि बहुमतको सरकार निर्माणसँगै हुने बताए । देशमा अप्ठ्यारो अवस्थामा भाग्ने नेता लोकतन्त्रका पक्षधर हुन नसक्ने चर्चा गर्दै उनले अब राष्ट्रियतालाई मजबुत बनाउन र नेपालीको शिर झुक्न नदिनेमा जोड दिए ।