११ मंसिर, दोहा । कतारको आर्थिक बृद्धिदर तिव्र गतिले भइरहेको कतारको केन्द्रीय बैंकका गभर्नरले बताएका छन । गभर्नर सेख अब्दुल्लाह विन साउड अल थानीले खाडी सहयोग परिषद् (जिसीसी) मा पर्ने देशहरु मध्ये पनि कतारमा सवै भन्दा धेरै आर्थिक बृद्धि भईरहेको जानकारी दिए ।

उनलाई उद्धृत गर्दै कतार समाचार संस्थाले कतारका छिमेकी देशहरुले नाकाबन्दी गरिरहेका बेलामा पनि तिब्र आर्थिक बृद्धि भईरहेको समाचार संप्रेषण गरेको छ । समाचारमा जनाईए अनुसार कतारले नाकाबन्दीपछि पनि आर्थिक अवस्था खस्कन नदिन सतर्कता अप्नाएकाले बृद्धिदर तिब्र भएको हो ।

कतारले सन् २०१७ मा २.५ प्रतिशत कुल ग्राहस्थ उत्पादन हुने प्रक्षेपण गरेको केन्द्रीय बैंकले जनाएको छ ।

गभर्नर अल थानीले आगामी बर्ष आर्थिक बृद्धिदर अझ बढ्ने बताए । अन्तर्राष्ट्रिय मुद्रा कोषले हालै सार्वजनिक गरेको प्रतिवेदनमा सन् २०१८ मा कतारको आर्थिक बृद्धिदर २.५ बाट बढेर ३.१ पुग्ने अपेक्षा गरेको उनले जानकारी दिए ।

साउदी अरब, बहराईन, इजिप्ट र युनाईटेड अरब इमिरेट्स् (युएइ)ले गत जुन ५ देखि कतारमाथी कूटनीतिक समस्या सृजना गर्दै नाकाबन्दी गरेका छन ।

कतारले आतङ्कवादी र अतिवादीहरुलाई सहयोग गरेको, उनीहरुको आन्तरिक मामिलामा हस्तक्षेप गरेको र इरानसँगको कुटनीतिक सम्बन्ध बलियो बनाउदै लगेको लगायतका आरोप नाकाबन्दी गर्ने देशहरुले लगाएका छन । तर उनीहरुको आरोपलाई कतारले भने पुरै अस्विकार गरेको छ ।

नाकाबन्दी लगाएका देशहरुले कतारसँगको कूटनीतिक समस्या समाधान गर्दै नाकाबन्दी तोड्न १३ बुँदे माग राखेका थिए । ती माग मध्ये इरानसँगको सम्बन्ध तोड्नु पर्ने र कतारमा रहेका टर्कीका सेनाहरु फिर्ता पठाउनु पर्ने लगायतका मागहरु मुख्य रहेका छन् । तर सहमती नभएपछि नाकाबन्दी अझै पनि कायमै रहेको छ । रासस/सिन्ह्वा