चीनको विश्वास जितेका एक नेपाली प्राध्यापक

सरोज गौतम

गत कार्तिक महिनाको अन्त्यतिर चीनको पुरानो राजधानी सियान भ्रमणको अवसर जुर्‍यो । बेल्ट एण्ड रोड अन्तर्गत एक सेमिनारमा सहभागी हुने बाहेक चीनका शक्तिशाली राष्ट्रपति सी चिन फिङको गृहसहरका विभिन्न भागको अवलोकन गर्नु भ्रमणको मुख्य उद्दरेश्य थियो ।

राष्ट्रपति सीले अघि सारेको महत्वाकाँक्षी परियोजना बेल्ट एण्ड रोडको प्रारम्भ विन्दु समेत रहेको र द्रुतगतिमा विकास गरिरहेको सांस्कृतिक केन्द्र सियान र नेपालबीच पुरानो साइनो छ । सियान नेपालबाट सबैभन्दा कम हवाई दूरीमा रहेका चीनका मुख्य सहर मध्ये एक हो । मञ्जुश्री, फासियान र हु यत सान यही बाटो हुँदै नेपाल आएको पुराना किवदन्तीमा उल्लेख छ । पहिलो नेपाली बुद्ध धर्मावलम्बी बुद्धभद्रले पाँचौं शताब्दीमै सियानको भ्रमण गरेकाले पनि यस स्थलसँग नेपालको ऐतिहासिक सम्बन्ध छ ।


सिटी वालः

सिटी वाल

सियानको सिटी वाल चिनियाँ प्राचीन सैन्यकला र सुरक्षा प्रणालीको उदारहण हो । चीनका प्राचीनतम र संरक्षित किल्ला मध्ये सियानको सिटीवाल पनि पर्दछ । चिनियाँ राष्ट्रपति सीले महत्वपूर्ण विदेशी पाहुनाहरुलाई सियानको सिटी वालमा स्वागत गर्ने गरेका छन् ।

सिटीवालको गेट

अमेरिकी राष्ट्रपतिहरु, भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीमात्र होइन नेपाली नेताका तस्विर पनि यो वालमा देख्न सकिन्छ ।

चीन भ्रमणको समयमा प्रधानमन्त्री केपी शर्मा ओलीले सियान पुगेर सियान मेडिकल युनिभर्सिटी र टेराकोटा वारियर म्युजियमको भ्रमण गरेका थिए ।

टेराकोटा वारियर म्युजियमः

टेराकोटा वारियर म्युजियम विश्वका मानव निर्मित आश्चर्यमध्ये एक मानिन्छ । चीनको लगभग १८ सय वर्ष अघिको छिङ वंशका प्रथम राजा छिङ सि हुवाङको मृत्युपछि उनको आत्माको सुरक्षाका लागि करिब छ हजार सिपाहीका माटाको मूर्ति बनाई ती पनि जमिनमुनि पुरिएको विश्वास गरिन्छ ।

करिब चार दशकअघि मात्र पत्ता लागेको सो स्थानमा सिपाहीका मूर्तिसहित घोडाको मूर्ति पनि त्यसैगरी पुरिएका थिए । ६ हजार सिपाहीको मूर्ति पुरिएको विश्वास गरिए पनि हालसम्म दुई हजारको मात्र उत्खनन भएको छ । ती मूर्ति टुटेफुटेका हजारौँ टुक्राबाट जोडिएर राखिएका छन् भने सङ्ग्रहालयमा तीन वटा खाल्डा पिस्त रहेका छन् । रोचक कुरा त यही संग्रहालयमामात्र नेपालले वर्षभरीमा स्वागत गर्ने भन्दा कैयौं गुणा बढी पर्यटक हरेक महिना पुग्ने गर्छन् ।

फामेन टेम्पलः

सियान नजिकैको फुफेङ काउन्टीस्थित फामेन टेम्पल प्यागोडा शैलीको जननी र प्राचीनतम मन्दिर मध्ये एक मानिन्छ । भगवान बुद्धको औंलाको अस्तु राखिएको फामेन टेम्पल चिनियाँ मात्र होइन ससारभरका वुद्ध धर्मावलम्बीहरु बीच अत्यन्तै लोकप्रिय छ ।

सियानको विशेष सम्झनाः चीनको विश्वास जितेका एक नेपाली प्राध्यापक

चिनियाँहरु हतपती कसैलाई विश्वास गरिहाल्दैनन् । भातृत्व र मित्रतामै जोड दिने भएपनि चिनियाँहरुको विश्वास जित्नु सजिलो विषय पनि होइन ।

तर विगत २२ वर्षदेखि सियानलाई कर्मथलो बनाएका एक नेपाली प्राध्यापक भने अपवाद जस्ता लाग्छन् । सियान महानगरमा मात्र नभएर बेइजिङमा समेत राम्रो पकड बनाएका धनुषाका प्राध्यापक डा. राजीव झालाई सियानमा चिनियाँ कम्युनिष्ट पार्टीका पदाधिकारी र महानगरका बरिष्ठहरुले यति विश्वास गर्छन् कि हाम्रो भ्रमणकै क्रममा कतिपय चिनियाँले उनीप्रतिको विश्वासप्रति डाहा गरेजस्तो अनुभूति हामीले गर्‍यौं ।

सियान सरकारको तर्फबाट अन्तर्राष्ट्रिय बिशिष्ठ पाहुनाहरुलाई एउटा महत्वपूर्ण डिनरमा झालाई सियान सरकारको तर्फबाट आयोजकको भूमिका निर्भाह गर्न दिएको देखेर हामीलाई साँच्चिकै अनौठो लाग्यो कि उनले यतिधेरै विश्वास कसरी जिते भनेर ।

चीन सरकारले झा कार्यरत सियान मेडिकल युनिभर्सिटीमा चाइना नेपाल फ्रेन्डसिप मेडिकल रिसर्च सेन्टर अफ प्रोफेसर राजीवकुमार झा समेत स्थापना गरिदिएको छ । त्यहाँ, विश्वमा नै ठूलो चुनौती बनिरहेको क्यान्सर रोगको नियन्त्रणका उपाय खोज्ने विषयमा अनुसन्धान हुन्छ । दिनहुँ दर्जनौँ चिनियाँ र अरू विदेशी विद्यार्थीले डा. झाबाट असाइनमेन्ट लिन्छन् । सन् २०१५ मा सान्सी प्रान्तले दिने १०० ट्यालेन्टु को उपाधि पाएका उनले सन् २०१८ को लागि ५० हजार चिनियाँ आरएमबी बराबरको ‘सियान फ्रेन्डसिप अवार्ड पाए ।

चीनको सान्सी प्रान्तस्थित सियान सरकारद्वारा प्रत्येक दुई वर्षमा दिइने उक्त पुरस्कारका साथ सियान एक्सिलेन्ट फरेन एक्सपर्ट अवार्ड बाट पनि डा. झासहित विभिन्न नौ देशका १० जना विशिष्ट प्रतिभाशाली व्यक्ति पुरस्कृत भएका छन् । सो पुरस्कार प्राप्त गर्ने उनी पहिलो नेपाली हुन् । चीनको सान्सी प्रान्तले झालाई नेपालका लागि नागरिक दूत नियुक्त गरेको छ । चीनको कुनै पनि प्रान्तीय सरकारले त्यहाँ लामो समय बसेर विभिन्न क्षेत्रमा विशिष्टता हासिल गरेका र अन्य देशसँगको सम्बन्ध विकासमा उल्लेखनीय योगदान पुर्‍याउने विदेशी नागरिकलाई नागरिक दूत का रूपमा नियुक्त गर्छ ।

जनकपुरधामको प्रवाहा गाउँमा जन्मिएका झा काठमाडौँ विश्वविद्यालयबाट आईएससी गरेपछि २०५३ सालमा एमबीबीएस पढ्न चीन गएका थिए । पीएचडी र पोस्टडकु चीनमै गरेका उनले पढ्ने र पढाउने गरी २ दशक चीनमै विताइसकेका छन् । वर्षेनी २० जना विद्यार्थीले चीनको सियान विश्वविद्यालयमा अध्यन गर्नेगरी छात्रवृत्ति पाउन थालेका छन् ।

नेपाल चीन सम्बन्धको नाममा संस्था खोलेर चर्चा गर्ने अन्य भन्दा झाको शैली फरक देखिन्छ । लाग्छ चीनमा विताएको लामो समयले उनलाई नतिजा निकाल्ने गरी काम गर्न र कम बोल्न सिकाएको छ । उनकै पहलमा नेपालका नेपाल चीन सम्बन्ध विस्तारका लागि निक्कै मेहनत गरेका सँधै हितैषी छिमेकीकोरुपमा रहँदै आएपनि चीनको अपेक्षा अनुसार नेपालबाट व्यवहार प्रदर्शन हुन नसकेकोमा झा दुःखी देखिन्छन् । यद्यपी दुई पक्षीय सम्बन्ध सुदृढीकरण र सहयोग आदानप्रदान बढाउने उनको दृढता कम भएको छैन । बरु यी प्राध्यापकले सियानमात्र होइन चीनलाई नै नेपालसँग बलियो धागोले जोडिरहेका छन् ।