America Flag१८ जेठ, दमास्कस । रसियाले आफ्नो देशलाई हतियार दिइरहेको भनी सिरियाली राष्ट्रपति बसार अल असादको अन्तरवार्तापछि सिरियाली गृहयुद्धको भविष्यप्रति विश्वका नेताहरुले विभिन्न टिका टिप्पणी गरेका छन् ।

यसैक्रममा शुक्रबार अमेरिकाले पनि रसियाको सो कदमको व्यापक मात्रामा विरोध गरेको छ । अमेरिकी विदेश मन्त्री जोन केरीले उक्त कदमप्रति रसियाको निन्दा गरेका छन् ।

वासिङ्टनमा शुक्रबार उनले रसियाको सो कदमले हाल सिरियामा जारी रहेको गृहयुद्धको अवस्था झन समस्यामा पर्ने चिन्ता व्यक्त गरेको विभिन्न अन्तराष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् ।

हालैमात्र एक विदेशी टेलिभिजन अन्तरवार्तामा सिरियाली राष्ट्रपति असादले रसियाले सिरियालाई हतियार दिएको कुरा स्वीकार गरेका थिए ।

साथै सो अन्तरवार्तामा उनले आगामी दिनमा पनि रसियाले आफ्नो देशलाई शक्तिशाली हतियार र हवाई आक्रमणका लागि आवश्यक पर्ने युद्धपोत विमानहरु नै सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरेको खुलासा गरेका थिए ।

अन्तरवार्ताप्रति रसियाले खण्डन नगरेकोले अमेरिकी विदेश मन्त्री केरीले रसियाको सो कदमको कडा शब्दमा विरोध गरेका छन् ।

साथै उनले आगामी महिना जेनेभामा गर्न लागिएको सिरियासम्बन्धी शान्ति सम्मेलन पनि यस घटनाका कारण प्रभावित हुन सक्ने चेतावानी पनि दिएका छन् ।

रसिया र संयुक्त राज्य अमेरिकाको प्रस्तावमा आगामी महिना जेनेभामा सम्मेलन गर्न लागिएको छ । सो सम्मेलनका एजेण्डा तय गर्नका लागि पनि अमेरिका र रसियाका विदेश मन्त्रीको बैठक कयौँ पटक बसिसकेको छ ।

सिरियाको जारी हिंसाको अन्त्यका लागि भन्दै आगामी केही दिनमा नै जेनेभामा सुरु हुन लागेको सो वार्ताका लागि युरोपेली सङ्घ, संयुक्त राष्ट्रसङ्घलगायतले पनि सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरिरहेका छन् ।

उता सिरियाली प्रतिपक्षीहरु पनि र्टर्कीको स्तानबुलमा सोही वार्ताको एजेण्डा तय गर्नका लागि भनी बैठक बसिरहेका छन् । तर रसियाको विरुद्धमा आएको अमेरिकी विदेश मन्त्रीको यो प्रतिक्रियाका कारण सो वार्ता प्रभावित पर्नसक्ने आशङ्का बढ्न थालेको छ ।

सिरियामा सन् २०११ को मार्च महिनादेखि राष्ट्रपति आसादको राजीनामा मागगरी आन्दोलन सुरु भएको हो । सो आन्दोलनका क्रममा अहिलेसम्ममा कम्तीमा पनि ९४ हजार नागरिकको ज्यान गइसकेको छ ।

दिनहुँजसो नागरिक हत्याको क्रम नरोकिएपछि वार्ताका लागि अमेरिकाले सो पहल थालेको हो । तर सो प्रस्तावित शान्तिवार्ताका लागि विपक्षीहरूले राखेको यो पछिल्लो शर्तका कारण भने वार्तामा नै केही ढिलाइ हुनसक्ने आशङ्का व्यक्त गर्न थालिएको छ । रासस/एएफपी