phool trade in tihar

(सिवी अधिकारी)

१८ कार्तिक,काठमाडौ । लाजिम्पाटकी ज्ञानुमाया बुढाथोकी भाइटीकाको अघिल्लो दिन आज निकै चिन्तित थिइन् ।

भाइटीकाको मसला किन्न असन पुग्नुभएकी बुढाथोकीको खर्च अघिल्लो वर्षको तुलनामा रु तीन हजार बढी भएको छ । अघिल्लो वर्ष आठ जना भाइको लागि रु चार हजार खर्च गर्नुभएकी उहाँले यसपटक रु सात हजार खर्च गरेर सामान किनेकि छिन् ।

उनि भन्छिन्, “समय र परिस्थितिको उपज हो । जति महँगी भए पनि परम्परा धान्नै परो, चौपट महँगीले हामीजस्ता उपभोक्ता मारमा परिएको छ ।”

एकान्तकुना ललितपुरकी गङ्गा केसीले अघिल्लो वर्ष भाइका लागि रु पाँच हजारको किनमेल गरेकी थिइन् तर यसपटक झन्डै त्यसको दोब्बर खर्च हुने अनुमान छ ।

भाइटीकाका लागि सधैँ असनमा सामान खरिद गर्न आउने केसीले यसपटक मसला, फलफूल र मालाको भाउ अत्याधिक बढेकाले उपभोक्ता मारमा परेको बताइन् ।

अनामनगरकी सविता अधिकारीलाई पनि असन बजारको भीडभाड र महँगीले अचम्म तुल्याएको छ ।

बिहानै असन बजार पुगेकी उनलाई भाइटीकाका लागि चाहिने मसला र अन्य सामान खरिद गर्दा अघिल्लो वर्षको तुलनामा दोब्बर खर्च भएको छ ।

असनमा मसला किन्ने उपभोक्ता मात्र हैन व्यवसायी पनि यसपटकको तिहारमा महँगीले व्यापार सन्तोषजनक हुन नसकेको बताउँछन् ।

मसलालगायतका वस्तुमा भएको मूल्यवृद्धिले उपभोक्ता निकै हच्किएको र अघिल्लो वर्षको तुलनामा सामान पनि कम खरिद गर्ने गरेको उनीहरूको भनाइ छ ।

पुख्र्यौलीरूपमा मसलाको व्यापार गर्दै आउनुभएका असनचोकका सञ्जय धौ महँगीले गर्दा यसपटकको तिहारमा व्यापारमा दोब्बरले कमी आएको बताउँछन् ।

अघिल्लो वर्ष दैनिक रु ५० हजारसम्म कारोबार गरेका उनको व्यापार यसपटक दैनिक रु २० देखि २५ हजार मात्र भएको छ ।

असनका सबै पसलमा कुकुर तिहारदेखि लक्ष्मीपूजाको दिनसम्म भीड भए पनि सोमबार पसल सुनसान प्रायः देखिन्थ्यो ।

असनचोककै अन्नपूर्ण ड्राइफुड सेन्टरका सञ्चालक सुरेश प्रजापतिले पनि यसपटक दैनिक रु १२ देखि १५ हजारसम्मको मात्र कारोबार गरेका छन् ।

भाइटीकाका लागि काजु, पेस्ता, बदामलगायतका १७ थरि मसला चाहिन्छ । यीमध्ये यसपटक सबैभन्दा महँगो मूल्य पेस्ता, काजु र अलैँचीको भएको छ ।

नेपाल खुद्रा व्यापार संघको मूल्यसूचीअनुसार पेस्ताको मूल्य प्रति केजी रु एक हजार ४०० रहेको छ तर केही व्यापारीले रु एक हजार ६०० सम्म बेचेको पाइयो ।

अघिल्लो वर्ष अलैचीको मूल्य प्रतिकेजी रु एक हजार २०० रहेकामा यसपटक रु एक हजार ६०० पुगेको छ । त्यस्तै बदामको मूल्य प्रतिकेजी रु ९५० र काजुको मूल्य प्रतिकेजी रु एक हजार १०० रहेको छ । रासस