beijing-airport-blast६ साउन, काठमाडौ । चीनको बेइजिङ विमानस्थलमा शनिबार बम विस्फोट गरिएको छ । शनिबार बेइजिङ अन्तराष्ट्रिय विमानस्थलको टर्मिनल-३ को आगमनद्वारमा गरिएको उक्त बम विस्फोटका कारण पुरै टर्मिनलनै धुँवाले ढाकिएको थियो ।

उक्त बम विस्फोट प्रहरीद्धारा दुर्व्यव्यवहार भोगेका एक व्यक्तिले गराएको चीनीयाँ सञ्चारमाध्यमहरूले जनाएका छन् । हि्वलचेयरमा आएका उत्तरपूर्वी चीनको मध्य सानडोङ प्रान्तका ३४ वर्षे जी झोङझिङले घरमा आफैले बनाएको बम विमानस्थलमा विस्फोट गराएको बताइएको छ ।

उनलाई सन् २००५ मा दक्षिणी चीनमा प्रहरीले कुटपिट गरेका थिए । प्रहरीको उक्त कुटपिटबाट उनको कम्मरमुनिको भाग चल्न छाडेको थियो । कम्मरमुनीको भाग चल्न छाडेका उनले सोही घटनाको बदला लिन विमास्थलमा विस्फोट गराएको बताइएको छ । त्यसबेला प्रहरीले उनीमाथि लाइसेन्सबिना ट्याक्सी चलाएको आरोप लगाउँदै कुटपिट गरेको थियो ।

आफूले प्रहरीको दुर्व्यवहारबारे दिएको उजुरीको समेत सरोकारवाला निकायले उपेक्षा गरेको र आफूले न्याय नपाएपछि बदला लिन यस्तो गरेको प्रतिक्रिया दिएको चीनियाँ सञ्चारमाध्यमले जनाएका छन् । उनले विस्फोट गराउनुअघि आफूले पाएको पीडाका बारेमा पर्चा बाडेका थिए ।

विस्फोटपछि घाइते भएका जीलाई अस्पताल लगिएको छ । अधिकारीहरूले तत्कालै स्थितिलाई नियन्त्रणमा लिएको हुनाले उडानहरू भने प्रभावित हुन पाएन ।

beijing-airport-blast1

तस्विरः एजेन्सी