३२ साउन, काठमाडौ । प्रजातन्त्र सेनानी एवं नेपाली कांग्रेस जिल्ला कार्यसमिति, स्याङ्जाका पूर्व कार्यवाहक सभापति ८३ वर्षीय वेदप्रसाद पनेरुको आज बिहान ५ बजे आफ्नै निवास रंगेठाटी, स्याङ्जामा निधन भएको छ ।

वि.सं. २०१७ सालमा राजा महेन्द्रले प्रजातन्त्रको हत्या गरेपछि वि.सं. २०१७ देखि वि.सं. २०२५ सम्म उनी भारत प्रवासमा रहेर नेपालमा प्रजातन्त्र स्थापनाका लागि संघर्षरत रहेका थिए । वि.सं. २००७ सालदेखि वि.सं. २०६२/०६३ सालका आन्दोलनहरुमा निरन्तर रुपमा सक्रिय भूमिका निर्वाह गरेका उनी विगत २ वर्षदेखि अस्वस्थ थिए ।

नेपाली कांग्रेसका सभापति सुशील कोइरालाले आज एक विज्ञप्ती प्रकाशित गरी वेदप्रसाद पनेरूको निधनप्रति गहिरो दुःख व्यक्त गरेका छन् । कोइरालाले भनेका छन्, ‘प्रजातन्त्र सेनानी वेदप्रसाद पनेरुको निधनले मलाई दुःखित र स्तब्ध बनाएको छ । नेपालमा प्रजातन्त्र स्थापना र पुनस्र्थापनाका लागि अनवरत रुपमा नेपाली कांग्रेसमा रही स्वर्गीय पनेरुले पुर्याउनु भएको योगदान पार्टीको इतिहासमा सदा स्मरणीय रहिरहनेछ । उहाँको निधनबाट पार्टीलाई अपूरणीय क्षति पुगेको छ । उहाँको निधनप्रति म गहिरो दुःख व्यक्त गर्दछु । साथै, दिवंगत आत्माको चीर शान्तिको कामना गर्दै उहाँका शोक सन्तप्त परिवारप्रति म हार्दिक समवेदना प्रकट गर्दछु ।”