suvash nemang२८ बैशाख, इलाम । संविधानसभाका पूर्व सभाध्यक्ष सुवासचन्द्र नेम्वाङले मुलुक अहिले अध्याँरो सुरूङ भित्र फसेको बताएका छन् । दलहरू बीचमा सहमति हुन नसक्दा मुलुक सुरूङ भित्र फसेको विचार राखे ।

इलाम नगरपालिका ३ मा निर्माण भएको शहिद बम प्रसाद वान्तवाको शालिक अनावरण गर्दै नेम्वाङले दलहरूबीच सहमति गरेर देशमा उत्पन्न अप्ठयाराहरूलाई चिरेर अगाडि बढ्नुको विकल्प नरहेको बताएका छन् । दलहरू बीच बहुपहिचान कि एकल पहिचान भन्ने बिषयको विवाद दलहरुले चाडो अन्त्य गर्नुपर्ने बताएका छन् ।

संविधानसभाको निर्वाचनको मिति तत्काल तोकिनु पर्नेमा जोड दिदै नेम्वाङले मिति नतोँकिदा निर्वाचन हुने कि नहुने भन्ने बारेमा जनतामा अन्यौल सृजना भएको तर्क गरेका छन् । यता तत्कालिन कम्यूनिष्ट पार्टी नेकपा मालेका जिल्ला सदस्य रहेका बमप्रसाद वान्तवाको शालिक रत्न बम प्रतिष्ठान इलामले निर्माण गरेको हो ।

पार्टीसँग सम्वद्ध रहेर पञ्चायती शासनको विरूद्धमा लागेको भन्दै तत्कालिन पञ्चायती तानाशाहले वान्तवाको हत्या गरेको नेकपा एमाले इलामले जनाएको छ । २००९ सालमा इलामको चमैतामा जन्मेका वान्तवालाई २०३६ साल बैशाखमा पञ्चायती सरकारले हत्या गरेको प्रतिष्ठानका सदस्य महेश बस्नेतले जानकारि दिए ।

रत्नबम प्रतिष्ठानका अध्यक्ष अगम वान्तवाको अध्यक्षतामा भएको शालिक अनावरण कार्यक्रममा नेकपा एमाले उपाध्यक्ष राम राना, जिल्ला शिक्षा अधिकारि दिलनाथ पुरि, नेपाल शिक्षक यूनियनका अध्यक्ष पूर्ण प्रसाद गौतम, काजि राई लगायतले पनि बोलेका थिए ।