baluwatar२४ असार, काठमाडौ । नेकपा–माओवादीको विरोधलाई लिएर मंसीर चारको निर्वाचन अन्यौलमा परेको समयमा सरकार र उच्चस्तरिय राजनीतिक संयन्त्रबीच मंसीर चारमै निर्वाचन गर्ने सहमति भएको छ ।

अन्तरिम मन्त्रीपरिषदका अध्यक्ष खिलराज रेग्मी र उच्चस्तरिय राजनीतिक संयन्त्रको संयोजक विजयकुमार गच्छेदारबीच बिहान भएको भेटमा मंसीर चारमै जसरी पनि निर्वाचन गर्नुपर्ने सहमति भएको हो ।

प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटपछि पत्रकारहरुसँग कुरागर्दै अध्यक्ष गच्छेदारले मंसीर चारमै निर्वाचन गर्नेगरी तयारी थाल्ने सहमति भएको बताए ।

मंसीर चारमा निर्वाचन गर्ने बिषयमा उच्चस्तरिय राजनीतिक संयन्त्र दृढ रहेको उल्लेखगर्दै सरकार पनि प्रतिबद्ध रहेको गच्छेदारले बताए ।

मंसीर चारको निर्वाचन प्रभावित नहुनेगरी माओवादीका माग पूरागर्न गोलमेच सम्मेलन गर्न सरकार तयार रहेको गच्छेदारले बताए । भेटमा विकसित पछिल्लो राजनीतिक घटनाक्रम, बजेटको तयारी, नेकपा माओवादीका माग लगायत बिषयमा छलफल भएको थियो ।