headache२० बैशाख, काठमाडौ । तपाईलाई टाउको दुखेको छ ? नआत्तिनुस काठमाडौमा तपाईलाई मात्र होइन हिजो र आज धेरैलाई यो समस्या देखिएको छ । गतसाता पानी परेर चिसो भएको काठमाडौमा एक्कासी गर्मी बढेपछि धेरैजनालाई टाउको दुख्ने रोगले सताएको हो ।
टाउको दुख्ने चिटचिडाहट बढेपछि कामगर्न मन नलाग्ने भएको छ । कतिपयले पटक पटक मुख धुने गरेका छन् । गर्मीसँगै काठमाडौको धुलोका कारण टाउको दुख्ने समस्या बढेको हो । काठमाडौमा सबैले टाउको दुखेको बताएपछि झण्डै आधा जनसंख्यालाई नै यो समस्या देखिएको अनुमान गरिएको छ ।
चिकित्सकहरू दिउँसोको घाममा बाहिर ननिस्कन सुझाव दिन्छन् । टाउको दुख्दा सिटामोल खाएर दवाउने भन्दापनि पानी धेरै खाने, कागतीको रस राखेर सर्वत खाने गरेमा टाउको दुख्नमा कमी आउने चिकित्सकको सुझाव छ ।
इपिडिमियोलोजी तथा रोग नियन्त्रण विभागका डा. युवराज पौडेल टाउको दुख्नुका कारण गर्मीमात्र नभएर अरूपनि हुनसक्ने बताउँछन । ‘टाउको दुख्नु आफैमा रोग होइन, शरिरमा कुनै गडबडी भएर दुख्ने हो, गर्मीमा सावधान हुनुपर्छ , उनी भन्छन् ।
मौसम पूर्वानुमान महाशाखाका कारण शुक्रबार काठमाडौको तापक्रम झण्डै ३३ डिग्री पुगेको छ । बिहिबार ३२ दशमवल ४ डिग्री पुगेको थियो । हुन त राजधानी बाहिर तराईका जिल्लामा तापक्रम ४० डिग्री हाराहारिमा पुगेको छ । तराईका जिल्लामा पसिना बग्ने भएकोले टाउको दुख्ने समस्या नभएपनि काठमाडौको गर्मी फरक किसिमको छ ।