god shivaशिवरात्रीका दिन शिवभक्त, शिव मन्दिरहरूमा गएर शिवलिंगमा बेल-पत्र आदि चढाउने, पूजन गर्ने, उपवास बस्ने तथा राती जागरण गर्दछन् । शिवलिंगमा बेल-पत्र चढाउनु, उपवास तथा रात्रि जागरण गर्नु जस्ता विशेष कर्मको सम्पादन यस पर्वमा हुने गर्दछ ।

यस दिन शिवको विवाह भएको थियो त्यसैले राती शिवजीको जन्ती निकालेर उत्सव गर्ने चलन पनि छ। वास्तवमा शिवरात्रिको परम पर्व स्वयं परमपिता परमात्माले सृष्टिमा अवतरित भएको स्मृति पर्व हो । यहाँ रात्री शब्दले अज्ञान एवं अन्धकारबाट हुने नैतिक पतनको द्योतन गर्छ । परमात्मा नै ज्ञानको सागर हो जसले मानव मात्रलाई सत्य ज्ञानद्वारा अन्धकारबाट प्रकाश तर्फ अथवा असत्यबाट सत्य तर्फ लैजान्छ । ब्राह्मण, क्षत्रिय, वैश्य, शूद्र, स्त्री-पुरुष, बालक, युवा र वृद्ध सबै यस व्रतको पालन गर्न योग्य मानिन्छन् । यस व्रतको विधानमा सवेरै स्नानादिबाट शुध्द भएर उपवास गर्ने गरिन्छ ।

पूजा विधि
– यस दिन माटोको भाँडोमा पानी भरेर, त्यसमाथि बेलपत्र, आँक, धतूरोको फुल, चामल आदि हालेर ‘शिवलिङ्ग’मा अर्पण गरिन्छ। यदि नजीकमा शिवालय छैन भने, शुद्ध गिलो माटोबाटै शिवलिंग बनाएर त्यसलाई पूजा गर्ने विधान छ।

– राती जागरण बसेर शिवपुराणको पाठ र कथा सुन्नु प्रत्येक व्रतालुको धर्म मानिन्छ।

– व्रतको भोलिपल्ट बिहान सवेरै जौ, तिल, खीर र बेलपत्रको हवन गरेर व्रत समाप्त गरिन्छ।

 

महाशिवरात्रि भगवान शङ्करका निमित्त सबैभन्दा पवित्र दिन हो । यो आफ्नो आत्मालाई पुनीत बनाउने महाव्रत हो। यो व्रतको पालना गरेर सबै पापहरूको नाश हुन्छ। हिंसक प्रवृत्तिमा परिवर्तन आउँछ। निरीह जीवहरू प्रति दयाभाव उब्जिन्छ। ईशान संहितामा यसको महत्ताको उल्लेख यसरी गरिएको छ-

॥शिवरात्रि व्रतं नाम सर्वपापं प्रणाशनम् || आचाण्डाल मनुष्याणां भुक्तिमुक्तिप्रदायकम् ||