shankar pd pandayनेपाली कांग्रेस स्याङजा क्षेत्र नं ३ बाट दुईपटक चुनाव जितिसकेका पुर्वसांसद शंकर प्रसाद पाण्डे अहिले पनि राजनीतिमा उत्तिकै सक्रिय छन् । उनी अब हुने संविधानसभा निर्वाचनमा पनि उम्मेदवारका आकांक्षी हुन् । सादा जीवन र उच्च विचारका पाण्डेले अहिले पनि जुत्ता चप्पल लगाउँदैनन् ।

नेपाली कपडा र नेपालमा बनेका सामान मात्रै उपयोग गर्छन् । बेलुकामा १ छाक मात्र खाना खाने पाण्डे अहिले पनि भोटो र कछाडमा भेटिन्छन् । ३६ बर्षदेखि जुत्ता चप्पल नलगाएका पाण्डेले प्रजातान्त्रिक संविधान बनेपछि मात्र लगाउने प्रतिज्ञा गरेका छन् । प्रस्तुत छ, उनीसँग नेपालीहेडलाईन्सले गरेको कुराकानीः

लामो समय राजनीतिमा हुनुहुन्थ्यो अहिले कता व्यस्त हुनुहुन्छ ?
– म अहिले पनि धर्म, राजनीति र विज्ञानको त्रिवेणीबाट अघि बढेको छु । यो नै सुखी र आनन्द जीवन हो ।

फेरि पनि चुनाव लड्दै हुनुहुन्छ, हो ?
– राष्ट्रियता, प्रजातन्त्र र समाजवादको संकटका लागि संविधानसभा संविधान लेख्नका लागि, नेपालको सनातन धार्मिक एकताको लागि म जस्तो व्यक्तिको आवश्यकता छ ।

तपाईले चुनाव जित्नुहुन्छ त ?
– मैले जिन्दगीमा हार देखेको छैन् ।

मुलुकभर कांग्रेस कमजोर भएको भन्छन् तपाईले किन हार देख्नुहुन्न ?
– कांग्रेस कहिले पनि कमजोर छैन । कांग्रेसको नामबाट विगतमा गरिएका कामहरुमा कमजोरी देखिएको हो । धर्म निरपेक्षताको मुद्धा खारेज, सनातन धार्मिक एकता र स्वतन्त्रता कायम गर्ने, राष्ट्रियताको पक्षमा खरो उत्रने, लोकतन्त्रको पक्षमा उभिने काम गर्नुपर्छ । राष्ट्रवादी र लोकतन्त्रवादीसँग सहकार्य गर्नुपर्छ । त्यसपछि कांग्रेसको दुईतिहाई मत आउँछ ।

तपाईले नेपाल हिन्दु राज्य कायम हुनुपर्छ भन्न खोज्नुभएको हो ?
– हिन्दुराज्य होईन । सनातन हिन्दु राष्ट्र नेपाल हामीले खोजेको हो । यसको परम्परालाई देशका पछिल्ला शासकहरुबाट विकृत गरियो । नेपाललाई सनातन, धार्मिक, सांस्कृतिक हिन्दु राष्ट्रकै रुपमा विश्व सम्पदा सुचीमा दर्ता गरिनुपर्छ । जनताले अनुमोदन गरेको राष्ट्रप्रमुख हुने व्यबस्था र जनताले आफ्नै शक्तिबाट हटाउन सक्ने परम्परा सनातन हिन्दु राष्ट्रमा सुरक्षित छ । यो समाजवादी परम्परा पनि हो । यो राष्ट्रियताको बलियो आधार पनि हो । २१ औं शताव्दीको विश्वव्यापी मुल्य मान्यतामै सनातन हिन्दु राष्ट्रको परम्परा हुने कुरामा विश्वस्त छु ।