rukmangad katuwal३२ साउन, काठमाडौ । पूर्वप्रधानसेनापति रुक्मागंत कटुवालले तत्कालिन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले लोकतन्त्रको हरण गरेर देशमा तानाशाही व्यवस्था लाद्न खोजेको आरोप लगाएका छन् ।

आज ओएनएस न्युजसँग कुरा गर्दै कटुवालले आफूले प्रचण्डलाई देशमा तानाशाह लाद्नबाट जोगाएको बताएका छन् । उनले आफूले अवरोध गरेकै कारण प्रचण्डले आफुलाई प्रधानसेनबापति पदबाट हटाउन खोजेको आरोप समेत लगाएका छन् ।

उनले आफ्नो त्यतिबेलाको अडानका कारणनै अहिले नेपाली जनताले लोकतन्त्रको अभ्यास गर्न पाएको बताए । “मलाई मात्र प्रधानसेनापतिबाट हटाउन खोजिएको थिएन” उनले भने, “सारा जनताको अधिकार खोसेर देशको लोकतन्त्रनै सखाप पार्न खोजिएको थियो, जसलाई मैले हुन नदिएर लोकतन्त्रलाई जोगाए ।”

तपाई कुनै समय निकै विवादमा आउनुभयो नि ? भन्ने प्रश्नमा उनले आफु संविधान अनुसार जनताको काम गर्ने व्यक्ति भएकोले कहिल्यै विवादमा नआएको बताए । “तपाई मलाई कसरी विवादीत छविको मान्छे भन्नसक्नुहुन्छ ?” उनले प्रश्न गर्दै भने, “जनताको प्रतिनिधिले बनाएको संविधान अनुसार हुनुपर्छ, म त्यसै अनुसार चल्छु भन्ने मान्छे कसरी विवादीत हुन्छ, म त्यस्तो मान्दिन ।”

उनले २०६५ सालमा आफूलाई प्रधानसेनापतिबाट हटाउन खोज्नेहरुले पछि आफु समक्ष माफी मागेको बताए । उनले एमाओवादी नेताहरुलाई संकेत गर्दै उनीहरु आफ्नो घरमा बारम्बार आएर सल्लाह लिने गरेको पनि बताए । “मलाई हटाउन खोज्नेहरुले माफी मागिसकेका छन्” उनले भने, “उनीहरु आजकल मेरो घर आउँछन् । परैबाट नमस्कार गर्छन् । सल्लाह माग्छन, हिजो गल्ती गरियो भन्छन् ।”

उनले आफ्नो जागिर जीवनमा जनता प्रति कहिल्यै गद्दारी नगरेको बताए । “म जहिले पनि इमान्दार बने, जनतालाई गद्दारी गरिन” उनले भने, “यदी गद्दार भएको भए तपाईहरुले अन्र्तवार्ता लिनुहुन्थेन होला ।”