SUSHIL-KOIRALAनेपाली कांग्रेसका सभापति सुशील कोइराला बाँके क्षेत्र नं ३ सँगै चितवन क्षेत्र नं ४ बाट समेत अर्को संविधानसभा सदस्य निर्वाचनका लागि उम्मेदवार बनेका छन् । चुनावी प्रचारका क्रममा उनी अहिले चितवनमा व्यस्त छन् । आसन्न निर्वाचन, काँग्रेसको अवस्थालगायत विषयमा नारायण अधिकारीले उनीसँग गरेको कुराकानीको अंशः
निर्वाचनको प्रचार अभियानमा हुनुहुन्छ, तयारी कस्तो छ ?
– निर्वाचनको माहोल बनाउन हामीसबै घरदैलो गरिरहेका छौ, त्यो अभियानमा म पनि लागिरहेको छु ।

देशभरको चुनावी अभियानलाई कसरी नियाल्नुभएको छ ?
– सबैभन्दा ठूलो चिन्ता, कति वर्ष भयो स्थानीय चुनाव पनि भएन, त्यसपछि संविधानसभाको चुनाव भए पनि कति गर्दा पनि संविधान बन्न सकेन, त्यसले गर्दा लोकतान्त्रिक संविधानका निम्ति चिन्ता भएको छ। जहाँ म जान्छु हर ठाउँमा एउटा उत्साह छ, चुनाव र प्रजातन्त्रको पक्षमा ।

देशव्यापी रूपमा हिँडिरहनु भएको छ, अझै पनि मङ्सिर ४ मा निर्वाचन हुन्छ भन्नेमा शङ्का छ त ?
– कुनै किसिमको शङ्का छैन । नेकपा–माओवादीका अध्यक्ष वैद्यसँग र उहाँहरूको समूहसँग धेरै पटक प्रयास गरेको हो, मसँग त सम्बन्ध पनि राम्रो छ । “तपाईंहरू आउनुस्” भनेर मैले धेरै पटक भनेँ, उहाँहरूले ‘चारदलीय सिन्डिकेट’ भन्नुभयो ।
मैले तपार्इंहरू आउनुस् तपाईहरूको चित्त म बुझाउँछु भनें । पछि उहाँहरू आउनुभयो, हामीबीचमा छलफल पनि भयो, उहॉहरूले केही सर्त पनि राख्नुभयो । त्यसमा हामीले मङ्सिर ४ को संविधानसभाको चुनाव र सरकारका विषयबाहेक बुँदामा सहमति पनि जनायौ । शान्तिप्रक्रिया पनि छलफलबाटै टुङ्गो लाग्यो भने तपाईंहरूका माग पनि टुङ्गो लाग्छन्, सबै पार्टी मिलेर लोकतान्त्रिक संविधान निर्माण गरेर हामी अघि बढ्नुपर्छ भन्ने हाम्रो भनाइ हो । तपाईंहरू पनि आउनुस्,उच्चस्तरीय राजनीतिक समितिमा तपाईंहरू पनि बस्नुपर्छ भनेर आग्रह गरियो तर त्यो पनि उहाँहरूले स्विकार्नुभएन । धेरै प्रयासपछि उहाँहरू छलफलमा त आउनुभयो, हामीले भनेका दुई विषयबाहेकमा गृहकार्य गर्ने भन्नुभएको थियो तर त्यो मिल्न सकेन । उहाँहरूलाई पनि दबाब होला, आउनुभएन । आउनुभएको भए राम्रो हुन्थ्यो, मोहन वैद्य जिम्मेवार नेता हुनुहुन्छ, संविधानसभाको निर्वाचनलाई बिथोल्नुहुन्न भन्ने मलाई विश्वास छ ।

वैद्य समूहलाई नलिएरै चुनाव गर्दा पनि फरक पर्दैन भनेर विदेशीको दबाब तपार्इंहरूलाई छ भन्छन् नि ?
– कुनै दवाव छैन, विदेशीले वार्तामा ल्याउन खोजेकै हुन् । चुनाव त अवश्यम्भावी छ । चुनाव नभए मुलुकको स्थिति के हुन्छ, तपाईंहरूले जानेकै कुरा हो । यस कारणले चुनाव सार्ने भन्ने कुरै हुँदैन । चुनाव सार्ने स्थिति अहिले छैन तर उहाँहरूलाई समेट्नका निम्ति यसमै समावेश गरेर लैजानुपर्छ । अरू कुरामा जति पनि लचिलो हुन सकिन्छ ।

नेकपा–माओवादीसहितको गठबन्धनलाई बाहिर राखेर गरिने निर्वाचनमा जनताले निर्धक्कसँग मतदान गर्ने अवस्था रहन्छ ?
– रहन्छ, उहाँहरूले शान्तिपूर्ण विरोध गर्छौ भन्नुभएको छ । निर्वाचन बहिष्कारशान्तिपूर्ण गर्छौ भनेकाले कुनै समस्या हुँदैन । कार्यकर्तालाई सम्हालेर शान्तिपूर्ण विरोध गर्ने जिम्मेवारी उहाँहरूको हो । अहिले पनि वैद्यजीले शान्तिपूर्ण नै विरोध गर्छौ भनिरहनुभएको छ । शान्तिपूर्ण विरोधमा मतदान गर्न के अवरोध हुन्छ र ? सरकार निर्वाचनका लागि आतुर छ, उसले शान्तिपूर्णविरोध गर्नेलाई रोक्दैन । अन्तर्राष्ट्रिय समुदाय, राजनीतिक दल, भारत अनि चीन पनि चुनाव हुनुपर्छ भनिरहेका छन् । शान्ति, स्थायित्व, लोकतन्त्र र विकासका निम्ति लोकतान्त्रिक बाटो भनेकै चुनाव हो । केही छिटपुट घटना होलान्, त्यसैले नै अवरोध गर्छ भन्ने छैन् ।

निर्वाचनपछि बन्ने संविधानसभाले बनाएको संविधानलाई सबै नेपालीले मान्ने अवस्था रहला कि नरहला ?
– जनताले निर्वाचन स्वीकार गरेकै छन् । आजभोलि यत्रो चहलपहल देखिरहनुभएको छ । जनताले चुनाव नचाहेको छ र ? विरोध गर्नेहरूले जनताले भनेअनुसार नगरेमा उहाँहरू झन् अप्ठेरामा पर्नुहुन्छ । कसले संविधान चाहेको छैन र ? सबैले संविधान चाहेका छन् । त्यसैले अब बन्ने संविधानको विरोधी कोही हुँदैनन् ।

प्रमुख राजनीतिक दलले आफ्नो पार्टीले बहुमत नल्याए संविधान बन्दैन भन्छन् ? सबैको त बहुमत आउँदैन तर तिनै दलका शीर्ष नेताले यसो भनिरहँदा जनता कसरी विश्वस्त हुने ?
– चुनावमा सबै पार्टीको आआफ्नो घोषणापत्र हुन्छ । एकीकृत नेकपा (माओवादी) पनि बहुमत भन्छ, हामी पनि भन्छौँ र एमाले पनि भन्छ । सबैको आ-आफ्नै नारा छ । जोरजबर्जस्ती गर्ने त होइन, सबै पार्टीले आ-आफ्नो कुरा राख्ने हो । कुरा राख्ने छुट सबैलाई छ तर बढीले नेपाली काँग्रेस मन पराउँछन् ।

यसको मतलब तपाईंहरूको बहुमत नआए संविधान बन्दैन ?
– हाम्रो बहुमत नआउने कुरै नगर्नुस् । बहुमत पनि आउँछ, संविधान पनि बन्छ । लोकतन्त्रका निम्ति काँग्रेसले आजदेखि होइन, २००७ सालदेखि लड्दै छ । इतिहासमा नै छ त्यसका निम्ति काँग्रेसले कति कुरबानी गर्यो । चाहे राणाकालको कुरा होस्, चाहे पञ्चायतीकालको कुरा, ३० वर्षे जेलनेल पनि काँग्रेसले नै भोग्यो तर काँग्रेसले प्रजातन्त्रसँग कोही कसैसँग सम्झौता गरेन र गर्दैन । राजाले बिपीलाई ‘मिल्नुस्, आजीवन प्रधानमन्त्री हुनुस्’ भनेकै थिए तर काँग्रेसले स्विकारेन । जहाँसम्म प्रजातन्त्रको मूल्य, मान्यता र आदर्शको सवाल छ, नेपाली काँग्रेस कहिल्यै कसैसँग सम्झौता गर्दैन ।

जनताले अब काँग्रेसले संविधान दिन्छ भनेर विश्वस्त भए हुन्छ त ?
– हामीहरूका तत्कालीन विशेष समितिमा सहमति भएको छ । पहिला संविधानको मस्यौदा तयार गर्ने छौँ । कतिपय कुरामा सहमति नहुन पनि सक्छ त्यस्ता महत्वपूर्ण विषयमा व्यापक छलफल गर्छौं । जुन विषय छलफलबाट टुङ्गो लाग्दैन त्यसमा मतदानबाट समस्या समाधान हुने छ । त्यसैले ढुक्क हुनुस्, संविधान बन्छ ।

एमाओवादीले चुनाव चाहेको छैन भनेर केही शङ्का गर्नेहरू पनि देखिन्छन्, तपाईंलाई चाहिँ के लाग्छ ?
– मलाई त्यस्तो लाग्दैन, किनभने नेता ‘प्रचण्ड’ निर्वाचन अभियानमा यत्रो परिश्रमसाथ लागिरहनुभएको छ । मेची महाकाली अभियान गरिरहनुभएको छ भने हामी कसरी विश्वस्त नहुने ? मलाई लाग्छ, उहाँहरू चुनावको विरोधी हुनुहुन्न ।

उहाँहरूको चुनावी प्रचारशैली र तपार्इंहरूकामा फरक देखियो नि ?
– उहाँहरू हेलिकप्टरमा घुमिरहनुभएको छ । स्रोत साधनको प्रयोग गरिरहनुभएको छ । हामीसँग पैसा छैन, त्यसैले पैदल, मोटरसाइकल, मोटर जेमा सकिन्छ र आवश्यक पर्छ सोहीअनुसार गरिरहेका छौँ ।

तपाईंले चितवनलाई किन रोज्नुभयो ?
– चितवनका साथीहरूकै आग्रहमा म चितवन आएको हुँ । हाम्रो केन्द्रीय समिमिले शीर्ष नेतालाई दुई स्थानबाट उठाउने निर्णय गर्यो, त्यसैअन्तर्गत मलाई चितवन र बाँकेबाट उठाइयो ।

बाँकेमा जित सुनिश्चित नभएपछि राम्रो ठाउँका रूपमा रहेको चितवन क्षेत्र नं ४ रोज्नुभएको हो पनि भन्छन् नि ?
– बाँकेमा पहिले पराजय भोग्नाको कारण तपाईंहरूलाई थाहा नै छ नि । त्यतिबेला हाम्रा साथीले कहाँ राम्रोसँग भोट हाल्न पाए र ? कति धम्काइयो, कति अपहरण गरियो, यी सबै कुरा तपाईंहरूलाई थाहा नै छ नि । हामीले परिणाम नमान्न पनि सक्थ्यौ तर त्यसो गरेनौँ, किनभने मुलुकको कुरा थियो । यसपालि उहाँहरू संयमित हुनुहुन्छ, जनताले चाहेको उम्मेदवारलाई मतदान गर्नेछन् । जनलहर हाम्रो पक्षमा छ, पहिलेको जस्तो चुनाव होइन यो, त्यसैले काँग्रेसको जित निश्चित छ ।

तपाईंको बागी उम्मेदवार तपाईंकै पार्टीका विकास कोइराला हुनुहुन्छ, असजिलो हुँदैन ?
– मैले कुनै असजिलो देखेको छैन । प्रजातन्त्रमा सबैको अधिकार हुन्छ । उहाँलाई मन लाग्यो चुनावमा उम्मेदवारी दिनुभयो । मलाई पार्टीले उठायो, म पार्टीको उम्मेदवार हुँ । मलाई कसैले त्यस्तो नोक्सान पार्न सक्ला जस्तो लाग्दैन । यत्रो इतिहास बोकेको पार्टीलाई छाडेर जनता व्यक्तिविशेषको पछि लाग्ने छैनन् । रासस