हिमांशु चौधरी
१० असोज, धनुषा । मैथिल र थारू समुदायका महिलाको महान् पर्व जितिया आजदेखि सुरु भएको छ ।

मुख्य विधि र पर्व यसपटक आजैदेखि परेको कारण वर्तालुले आज साँझ ७ बजेदेखि नै विधिवत् रूपमा व्रत सुरु गरी शनिबार बिहानसम्म निराहार बस्नुपर्नेछ ।

ज्योतिषका अनुसार यसपटक तिथिको समयमा हेरफेर भएका कारण व्रतालुलाई ३६ घण्टासम्म निराहार व्रत बस्नुपर्ने भएको छ । गत वर्ष २८ घण्टा मात्र बस्नु परेको थियो । यस व्रतमा थुक पनि निल्न नहुने र ३६ घण्टासम्म निराहार उपवास व्रतमा बसी व्रतलाई खण्डित पनि गर्न नपाउने नियम रहेकाले यो पर्वलाई कठोर पर्वका रूपमा पनि लिइन्छ ।

जितिया पर्व मधेसी संस्कृतिको पर्वमध्येको एउटा मुख्य पर्व हो । यसलाई जिमुतवाहन व्रत पनि भनिन्छ । यो पर्व आश्विन कृष्ण पक्षको अष्टमी तिथिका दिन मधेसका प्रत्येक गाउँघर, शहरका महिलाले मनाउँछन् । पुत्रको सुखशान्ति र चिरायुका लागि महिलाले उपवास र प्राचीन प्रक्रियाअनुरुप पूजा गरेर यो पर्व मनाउने चलन रहेको छ । जितिया पर्व यसकारणले पनि प्रसिद्ध छ कि यसको नियमपूर्वक पूजा गर्नाले आफ्नो पुत्रको आयु वृद्धि हुने जनविश्वास पाइन्छ ।jitiya parv

विशेष रुपले आइतवार र मङ्गलबार पर्ने जितियालाई अधिक महत्व दिइन्छ । यसलाई खड् जितिया पनि भनिन्छ । कुनै व्यक्ति ठूलो दुर्घटनाबाट बाँच्न सफल भयो भने उसको आमाले खड् जितिया गरेकी रहिछन् भन्ने मान्यता पनि रहेको छ । जितिया पर्वको मुख्य उद्देश्य मोक्षप्राप्तिको कामनासँगै परिवार कल्याण पनि रहेको धारणा पाइन्छ । यस पर्वबारे एउटा भनाइ यस प्रकार छ :

जितिया पावनि बड भारी
धियापूताके ठोकि सुतौलनि
अपने खयलनि भरि थारी

अर्थात् जितिया पर्व धेरै ठूलो छ । यो पर्व गर्न आमाले छोराछोरीलाई ठोक–ठाक पारेर सुताइदिन्छे अनि आफू थालभरि खान्छे । तर वास्तविकता त्यो होइन, त्यो त खाली त्यसको पवित्रता र महत्वलाई दर्शाउने गरी त्यो पर्व गर्नुभन्दा अगाडि प्रत्येक महिलाले व्रत लिन अपनाउने सतर्कताका क्रममा गरिने चरणको कार्य मात्र हो ।

यस पर्वको आफ्नै विशिष्ट विधिविधान रहेको छ । पर्वको एक दिनपूर्व अर्थात् आश्विन कृष्ण सप्तमीका दिन सधवा स्त्रीगण माछा एवम् कोदोको रोटी खाने गर्छन् भने विधवाद्वारा भात, चिउरा, कोदोको रोटी खाने परम्परा रहेको छ । शाकाहारी हुनेले स्नान गरेर गम्हरी (कोसा भित्रै फल्ने धान)को खीर वा भात पनि खाने चलन छ । अष्टमी तिथिको बिहान ३–४ बजेतिर नै प्रत्येक महिलाले आचमन शुद्धि गरी घिरौँलाका पातमा तेल लगाएर त्यसमाथि पिनाको अर्घ राख्छन् । त्यसपछि दिन–रात उपवासमा बस्नुपर्ने भएकाले छाकभरि भोजन गर्छन् । महिलाले व्रत–उपवास गर्नुभन्दा पहिला नै खाने गरेकाले नै होला, यस व्रतका सन्दर्भमा माथि उल्लेख गरिएको भनाइको चलन भएको विश्वास छ ।

बच्चा ब्युँझेपछि तिनका आमाले तिनको मुख, हात धुन लगाई रातिमा तिनका लागि घिरौँलाका पातमा राखेका नैवेद्यस्वरुपको चिउरा, दही खान दिन्छन् र आफू दिनरात उपवासमा बसेर जिमुतवाहन र चुल्हो सियारोको कथा सुन्छन् । जुन दिन नुहाएर खाइन्छ त्यसको भोरमा घरको भित्तामा अडेस लिएर मन्त्र पढिन्छ जसलाई ओङगठन भनिन्छ । ओङगठनको मन्त्र यसप्रकार रहेको छ :

धियाके जनम जनि दिय हे विधाता
देवनि सहोदर जेठ भाय
घैलाके ओङगठन गेरुलि
बहिनियाँके ओङगठन भाय ।।
भोलिपल्ट बिहानै सकालै उठेर व्रतीले पोखरी, नदीमा गएर स्नान गर्छन् र त्यही डिलमा घिरौँलाको पात, कचौरामा लगेको तेल लगाई त्यसमाथि हल चढाएर अर्घ दिसकेपछि घर आउँछन् र आ–आफना सन्तानका कपालमा कचौरामा रहेको सो पुजनको तेल लगाइदिने चलन रहेको छ । यसपछि सबैलाई दही, चिउरा र फलफूल खान दिएर व्रती आफू पनि पारायण गरेर पर्वको समापन गर्छन् ।

जिमुतवाहनको पूजा
कृष्णअष्टमीका दिन व्रतालुले नजिकको पोखरी, तलाउमा स्नान गरी भगवान् सूर्यलाई अर्घ अर्पण गर्छन् । त्यसपछि व्रतको सङ्कल्प गर्छन् र घरमा आएर डाली भर्ने गरिन्छ । डालीमा नरिवल, काँक्रो, स्याउ, केरा लगायतका फलफूल राखेर नयाँ कपडाले छोपिन्छ ।

मध्याह्नतिर टोलभरिका महिलाले एक ठाउँमा भेला भएर जिमुतवाहन व्रतको महत्व, पर्वको शुभारम्भ, जिमुतवाहन देउताका बारेमा एउटी व्रतालु महिलाले कथावाचन गर्छन् र सबैले कथा श्रवण गरेपछि आ–आप्mना घर फर्किन्छन् । साँझतिर आँगनमा गाईको गोबरले लिपपोत गरेर एउटा सानो खाल्डो खनेर पोखरीको निर्माण गरिन्छ । त्यो पोखरीको डिलमा पाकडी रूखको सानो हाँगा गाड्नुका साथै हाँगामा माटोकोे चिलको आकृति र हागामुनि स्यालको आकृति बनाउँछन् । त्यहाँ जलले भरिएको कलशमा कुशको जिमुतवाहनको मूर्ति राखिन्छ र फलफूल लिएर जिमुतवाहनको व्रतालु महिलाले पूजापाठ गर्छन् ।

जिमुतवाहन को हुन् ?
भविष्य पुराणमा वर्णन गरेअनुसार शालिवाहन राजाका पुत्र जिमुतवाहन थिए । उनीमाथि महादेवको असीमकृपा रहेकाले नियमनिष्ठाले व्रत गर्ने महिलालाई सन्तान दीर्घायु हुने वरदान भगवान्बाट प्राप्त गरेका थिए ।

चिल र स्यालको पनि पूजा
हिन्दुधर्मको विभिन्न पर्वमा कतिपय चरा र जनावरलाई विशेष महत्व दिएर पूजा गरेर सम्मान दिने परम्परा रहेको छ ।

सोअनुरूप गाई, परेवा, काग, कुकुर, हाँस, बाघ, मुसो लगायतका जनावरको पूजा गरिन्छ भने जितिया पर्वमा चिल र स्यालको पूजा गर्नुपर्ने हुन्छ ।

जितिया पर्व कथा
कनकावती नगरको मध्यभागस्थित नर्मदा नदीको डिलमा पाकरीको रूखको फेदमा स्याल बस्थ्यो भने हाँगामा चिल । दुईवटैको बीचमा घनिष्ठ मित्रता थियो । एक दिन जितिया पर्व मनाउने महिलाले नर्मदा नदीमा स्नान गरी त्यही रूखको फेदमा बसेर जिमुतवाहन देवतालाई प्रसाद चढाएर कथावाचन गरेका थिए ।

व्रतालु महिलाको कथा सुनेर चिल र स्याललाई पनि जितिया व्रत गर्ने इच्छा जागृत भयो । दुवैले सल्लाह गरी व्रतमा बस्ने निधो गरे ।

सोही राति नर्मदा नदीको डिलमा एक व्यापारीको छोराको दाहसंस्कार गरियो । मृतकका आफन्तले शवको अधिकांंश भाग जलेपछि छोडेर घर फर्के । उनीहरू फर्केर गएको देखेर स्याललाई मृतकको मासु खाने इच्छा जाग्यो र साथी चिललाई थाहै नदिई मासु पनि खायो र केही लुकाएर पनि राखेको चिलले हेरिरहेको थियो ।

दुवैको जन्म भास्कर नामक ब्राह्मणको घरमा भयो । पूर्वजन्ममा चिलको शिलावती र स्यालको कर्पुरावतीका रूपमा जन्म भयो । जेठी शिलावतीको विवाह धनवानको घरमा र कर्पुरावतीको राजाको घरमा । जेठी शिलावतीका सात छोरा भए तर महारानी भएकी कर्पुरावतीको छोरा जन्मियो तर मृत्यु भयो ।

वर्षांपछि दुवैको सम्बन्ध चिसिँदै गएपछि जेठी शिलावतीले आप्mनी बहिनीलाई पूर्वको घटना स्मरण गराउँदै व्रत भङ्ग गरेको कारण यस जन्ममा तिम्रो सन्तानको मृत्यु भएको भनी जानकारी गराएको धार्मिक ग्रन्थमा उल्लेख गरिएको छ । त्यसै कारणले यो व्रत जति कठोर भए पनि व्रतलाई कसैले खण्डित गर्न चाहँदैनन् ।

थारू जनजातिका महिलाबीच पनि यो पर्व अति लोकप्रिय रहेको छ । थारू समुदायमा विवाहित महिलाले आफ्ना सन्तति र पतिको सुखशान्तिको कामना गर्दै निराहार बसी तीन दिनसम्म यो पर्व मनाउने गर्छन् । यस समुदायमा पर्वको पहिलो दिन पिना र पहेँलो माटो मुछेर घिरौँलाका पातमा घिरौँलाकै फूलबाट पूजा गरिन्छ र त्यही माटोबाट कपाल नुहाइन्छ । भोलिपल्ट बिहान कुलदेवता बस्ने घरको पिँढीमाथि चिल र पिँढीदेखि तल स्यालको पूजा गरिन्छ । पर्वको तेस्रो दिन बिहान घरको आँगनमा पूजा गरेर उपवास तोडिन्छ र जिमुतवाहनको कथा सुन्ने र नाचगान गरिन्छ ।

जितिया पर्वलाई दसैँ आगमनको सङ्केतका रूपमा पनि लिइन्छ । कतिपय महिलाले यस पर्वमा पुर्खालाई समेत पूजा गर्ने गरेको पाइन्छ । यस पर्वमा आफ्ना कुलका मृत श्रेष्ठ महिलाको स्मरण गर्दै पुजन गरिन्छ । छोरा र छोरीमा भेद्भाव गर्नुहुन्न भन्ने चेतना बढ्दै गएकाले यसलाई अचेल आफ्ना सन्तानको कल्याणका लागि मनाइने पर्व पनि भन्न थालिएको छ । ऐतिहासिक यस भूभागमा बसोबास गर्ने मुस्लिमबाहेकका महिलाको पर्वका रूपमा पनि यसले आफ्नो अस्तित्व हालसम्म कायम राखेको छ । यस क्षेत्रमा एउटा भनाइ प्रसिद्ध छ:

जितिया, दशैँ, दशमी, दशमी बीसे
सुकराति, सुकराति छवे छठि ।।
यस भनाइले पनि जितिया सकिएको लगभग विजयादशमीको रौनकतालाई प्रस्ट गर्दछ । यो व्रत खण्डित हुँदा सन्तानलाई अनिष्ट हुने जनविश्वास रहेकाले यस पर्वले सामाजिक, धार्मिक र सांस्कृतिक विविधतालाई पनि सामाजिक संरचनाकै अभिन्न पर्वका रूपमा बुझ्नु जरुरी छ । रासस

Advertisements