gyanendra ex king२८ वैशाख, धनगढी । राप्रपा नेपालका अध्यक्ष कमल थापाले राजतन्त्र नभएकै कारण राष्ट्रियता खतरामा परेको भन्दै राजतन्त्र फर्काउनु पर्ने जिकिर गरेका छन् ।
राष्ट्रिय प्रजातान्त्रिक युवा सङ्गठनको धनगढीमा आयोजित क्षेत्रीय भेलामा बोल्दै उनले घुमाउरो पारामा पूर्व राजा ज्ञानेन्द्रलाई फर्कउनु पर्ने धारणा राखेका थिए । उनले भने, ‘अहिले देशलाई आलङ्कारिक राजतन्त्र आवश्यक छ ।’

उनले देशका शीर्ष दलका नेता र राष्ट्रियता निकै कमजोर भएको भन्दै हरेक कुरामा विदेशी प्रभाव पर्न थालेकोमा चिन्ता समेत व्यक्त गरे ।

विदेशी सहसचिवस्तरको कर्मचारीले सोझै मन्त्रीदेखि राष्ट्रपतिसम्म भेट्ने हैसियत राख्नुले देशको राष्ट्रियता सबैभन्दा कमजोर भएको संकेत गरेको बताएका छन् । यस्तै, धेरै विवादकाबीच अख्तियार प्रमुखमा लोकमानसिंहलाई नियुक्ति गर्नु विदेशीको दबाब भएको र राष्ट्रपतिसमेत सो नियुक्ति प्रकरणमा विदेशी प्रभावमा परेको आरोप लगाएका छन् ।

उनले आगामी चुनावमा राप्रपा नेपाल राष्ट्रिय प्रजातन्त्र, संवैधानिक राजतन्त्र जस्ता मुद्दालाई लिएर अघि बढ्ने बताए ।