लोकेश साउद
mahabharatबैतडी सदरमुकामा नजिकै दक्षिणपट्टी रहेको देवलहाँटमा हजारौँ वर्ष पुराना पुरातात्विक महत्वका वस्तु फेला परेका छन् ।

परापूर्वकालमा निर्माण गरिएका देवलको जीर्णोद्धार गर्नेक्रममा सुन, चाँदी, तामा, माटो, फलाम, पित्तललगायतका धातुका दर्जनाँै भाडावर्तन फेला परेका हुन् ।

आजभन्दा करिब पाँच हजार वर्ष पहिला महाभारतमा कौरव पाण्डव युद्धको पौराणिक कथाको इतिहाससँग जोडिएको देवलहाँटस्थित विभिन्न आकृतिका वस्तु, तीनवटा ठूला तलवार, मूर्तिहरु र केही भाँडामा धानसमेत फेला परेका छन् ।

देवलहाँटमा रहेका सातवटा देवलमध्ये एउटा देवलको दोस्रो तलामा ती वस्तुहरु फेला परेपछि जिल्ला प्रशासन कार्यालयको रोहवरमा मुचुल्का गरेर सुरक्षित राखेका स्थानीय ईश्वरीदत्त भट्टले बताउनुभयो ।

 

पौराणिक कथाअनुसार महाभारत युद्धका बेला पाण्डवहरु एकरात यही स्थानमा बसेको र एकै रातमा सातवटा देवल निर्माण गरेको किंवदन्ती रहेको भट्टले बताउनुभयो ।

पूर्वजबाट पाण्डवहरु एकराति बास बसेको पवित्र स्थल हो भन्ने सुनेको थिएँ, उहाँले भन्नुभयो– “ठूल्ठूला तलवार र विभिन्न भाँडाकुँडा फेला परेपछि बुढापाकाले भनेको सही जस्तो लागेको छ ।”

 

जीर्ण अवस्थामा रहेको देवल पुरातत्व विभागको सहयोगमा पुनःनिर्माण गर्ने क्रममा सुन, चाँदी, तामा, माटो, फलाम, पित्तललगायतका धातुका दर्जनौँ भाडावर्तन तथा अन्य वस्तुहरु फेला परेका हुन् ।

दर्जनाँैको सङ्ख्यामा रहेका ती वस्तुहरु रहस्यमय तरिकाले फेला परेको स्थानीयवासी अर्का स्थानीय महादेव भट्टले जानकारी दिनुभयो । यति धेरै सङ्ख्यामा अचम्मका आकृति फेला परे, भट्टले भन्नुभयो– पाण्डवले निर्माण गरेका देवलहरु भएकाले त्यसभित्रबाट फेला परेका वस्तुहरु समेत त्यसै समयको हुनसक्ने अनुमान गरेका छौँ ।

 

फेला परेका वस्तुबारे पुरातत्व विभागले अनुसन्धान गरे पाँच हजार वर्ष पुरानो इतिहास पत्ता लाग्ने स्थानीय बासिन्दाको भनाइ छ । फेला परेको वस्तुसँगै धान पनि रहेकाले ती वस्तुको अध्ययन हुनसके इतिहासको नौलो तथ्य पत्ता लाग्ने उनीहरुको भनाइ छ ।

अनौठा खालका पुरातात्विक वस्तुहरु फेला परेपछि स्थानीय शिवशङ्कर युवा क्लबले महाशिवपुराण महायज्ञको आयोजना गर्दै ती वस्तुहरु प्रदर्शनीमा राखेका छन् ।

मन्दिरभित्रबाट फेला परेका वस्तुहरु हेर्न अहिले विभिन्न ठाउँबाट भक्तजन आउने क्रम बढेको छ । शिवशङ्कर युवा क्लबले पुरातात्विक वस्तुको प्रचारप्रसार र विश्व शान्तिको कामना गर्दै शुक्रबार महायज्ञको आयोजना गरेपछि विभिन्न ठाउँबाट बैतडीको देवलहाँट आउनेको सङ्ख्या बढ्दै गएको अर्का स्थानीय गणेश भण्डारीले बताउनुभयो ।

 

सदरमुकाम बैतडीको शाहीलेक बजारबाट एक किलोमिटर दक्षिणमा रहेको देवलहाँटमा छ वटा पूर्ण र एउटा अधुरो देवल रहेको छ । पाण्डवले राति देवल निर्माण गर्ने क्रममा छ वटा निर्माण सम्पन्न गरेको सातौँ देवल निर्माण गर्ने क्रममा उज्यालो भएपछि आफ्नो गन्तव्यतर्फ लागेको किंवदन्ती रहेको छ ।

 

हिन्दु धर्मावलम्बीका लागि पवित्रस्थल मानिएको देवलहाँटमा पूजाआजा गरेपछि मनोकाङ्क्षा पूरा हुने जनविश्वास रहिआएको छ । यहाँ सुदूरपश्चिमको महान पर्व गौरा र महाशिवरात्रिमा विशाल मेला लाग्ने गर्दछ ।

 

जीर्ण अवस्थामा रहेका देवलमा पुरातत्व विभागबाट तीन वर्षयता बर्सेनि एउटा देवलको जीर्णोद्धार गर्ने कार्य सुरु भएको छ । जीर्णोद्धारकै क्रममा एउटा देवलको मध्यभागबाट पुरातात्विक वस्तुहरु फेला परेका हुन् । रासस