communist-flag२८ बैशाख, काठमाडौ । जनआन्दोलन दवाउन मुख्य भूमिका खेलेको आरोप लागेका लोकमानसिंह कार्कीलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा नियुक्तिको विरोधमा नेकपा–माओवादी लगायत ३३ दलीय गठबन्धनले आज राजधानीमा मसाल जुलुस प्रदर्शन गर्ने भएको छ ।

कार्कीको नियुक्ती बदरगर्न मागगर्दै माओवादी नेतृत्वको गठबन्धनले साझ पाँच बजे राजधानीको सुन्धारवाट मसाल जुलुस प्रदर्शन गर्ने कार्यक्रम रहेको माओवादी सचिव देव गुरूङले जानकारी दिए । कार्कीको नियुक्तिविरूद्ध सोमबार नेपाल बन्द आह्वान गरेको गठबन्धनले त्यसैको प्रचारका लागि मसाल जुलुस प्रदर्शन गर्न लागेको बताएको छ ।

कार्कीको नियुक्तीको विरोधमा ३३ दलीय गठबन्धनले शुक्रबार राष्ट्रपति, डा रामबरण यादव, अन्तरिम मन्त्रीपरिषदका अध्यक्ष खिलराज रेग्मी र अख्तियार प्रमुख लोकमानको पुत्ला दहन गरेको थियो । गठबन्धनले भोलीका लागि विद्यार्थी संगठनले आह्वान गरेको बन्दको पनि समर्थन गरेको छ ।