Nepal-Afghanistan-flag२३ भदौ, काठमाडौ । जारी आठौ साफ च्याम्पियन्ससिप फुटबलको पहिलो सेमिफाइनल खेलमा आज नेपालले अफगानिस्तानसँग प्रतिष्पर्धा गर्दैछ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आज साँझ साढे ६ बजे हुने उक्त प्रतिष्पर्धा नेपालका लागी निकै महत्वपूर्ण रहेको छ, भने आजको खेलमा जित हासिल गरेर नेपाल नयाँ इतिहास रच्ने सुरमा छ ।

सातौ संस्करणको नयाँ दिल्लीमा भएको साफ च्याम्पियन्ससिप फुटबलमा नेपालले सेमिफाइनलमा अफगानिस्तानसँग पराजित हुँदा प्राप्त गर्न नसकेको सफलताका लागी आज नेपाली टोलीले कडा मेहेनत गर्नेछ । नेपाली टोलीले उक्त साफ खेलमा अफगानिस्तानसँग अतिरिक्त समयमा १ गोल खाँदै पराजय बेहोरेपछी फाइनल यात्रामा पूर्णविराम लागेको थियो । तर, यसपटक भने नेपालले अफगानिस्तानलाई पराजित गरेर फाइनल प्रवेश राम्रो मौका छ ।

शारीरिक रूपमा बलियो टोली अफगानिस्तानलाई सहजै पराजित गर्न नसकिने भएपनि पछिल्ला खेलहरूमा नेपालले गरेको प्रदर्शनलाई हेर्ने हो भने नेपाल अफगानिस्तानलाई पराजित गर्न सक्षम देखिन्छ । नेपाली टोली प्राविधीक रूपमा बलियो र पछील्ला खेलहरूमा निकै उत्कृष्ट प्रदर्शनका कारण नेपाली टोलीमा फाइनल प्रवेश गर्न सक्ने क्षमता रहेको छ भने नेपाललाई घरेलु मैदान र घरेलु समर्थकको समेत साथ रहनेछ ।

इतिहासलाई हेर्ने हो भने नेपाल र अफगानिस्तानबीचको खेलमा नेपाल नै हावी हुँदै आएको छ । अहिलेसम्म भएका अफगानिस्तानविरूद्ध भएको ५ खेलमा नेपालले ३ खेलमा जित हासिल गरेको छ भने १ खेलमा पराजय बेहोरेको छ र एक खेल बराबरीमा रहेको छ ।