married-womenहरेक युवतीको सपना हुन्छ की आफ्नो जीवनमा यस्तो पुरूष होस् जसले आफ्नो हरेक इच्छाहरूलाई सम्मान गरोस् र आफ्ना इच्छाहरूलाई पुरा गर्दै आफ्ना भावनाहरू बुझेर अगाडि बढ्न सकोस् । ऊ आफ्नो सपनाको राजकुमार होस् भन्ने चाहना हरेक युवतीको मनमा हुने गर्छ । युवतीहरूको मनमा विवाह भन्दा अगाडि कयौ तरहका सपना हुन्छन् । ती कयौ सपनामध्ये केहि पुरा हुन्छन् भने केही त्यतिकै टुङ्गिन्छन् ।

 

कतिपय युवतीहरू आफ्नो सपना पुरा नहुँदा आफ्नो मनलाई चित्त बुझाएर हिड्ने गर्छन् । यस्तै कतिपय युवतीहरू आफ्ना बाबु-आमाको इज्जतकालागि भन्दै आफ्नो इच्छालाई मारेर बाबु-आमाले देखाएको बाटोमा हिड्न बाध्य हुन्छन् भने कतिपयले आफ्नो इच्छा पुरा गर्नका लागि घर-समाजसँग विद्रोह नै गर्छन् ।

 

अहिलेका युवतीहरू विवाह भन्दा पनि आफ्नो करिअरलाई ध्यान दिने गरेका छन् । सबैभन्दा पहिले आफ्नो करिअर ध्यान दिन्छन् । यति धेरै परिवर्तन हुँदापनि हाम्रो समाज भने युवतीहरूलाई पुरानै शैलीमा परिवारको इच्छा अनुसार हिडुन् भन्ने चाहना राख्छन् ।

 

परिवारको इच्छा अनुसार चल्नु अहिलेका युवतीका लागि निकै गाह्रो कार्य समेत हुने गरेको छ । आफ्नो करिअरलाई निरन्तरता दिँदै परिवारको इच्छाअनुसार चल्न कुनै पनि युवतीलाई सहज हुँदैन् । त्यसैले पनि युवतीहरुकालागि अहिलेको समय निकै समस्या तथा तनावपूर्ण हुन्छ । युवतीहरूका लागि समस्या बनेका केही कुराहरू यस्ता छन्…

 

– करिअरसहित भान्साको कामः आजकल कुनै पनि युवती आफ्नो पढाई र करिअरलाई अगाडि बढाउन प्रयासरत हुन्छन् । उनीहरू सकेसम्म भान्साको काम गर्न रूचाउँदैनन् । तर, परिवार भने उनले पनि भान्साको काम गरे हुन्थ्यो भन्ने इच्छा राख्छन् । बुहारी बनेर घर पुगेका युवतीहरूलाइ त विषेश यो समस्याले पिरोल्ने गर्छ । आफ्नो काम, पढाईसहित सबै व्यवहार समेत धान्नु पर्ने अवस्थाले गर्दा निकै तनाव र समस्या झेल्नुपर्ने हुन्छ ।

 

– घरपरिवारसँग मिलेर बस्नुपर्ने अवस्थाः यदी कुनै परम्परामा मान्दै आएको परिवारसँग जोडिन पुगे उनीहरूसँगको उठबस पनि कुनै युवतीलाई सिक्न पर्ने र त्यसमा सम्झौता गर्नुपर्ने हुन्छ । आजको जमानाका शिक्षित र आर्थिक रूपले स्वतन्त्र तरिकाले जिउन चाहिने युवतीका लागि यो निकै कठिन बन्न पुग्छ । विषेशगरी आफ्नो रहनसहन, लुगा लगाई, अन्यसँगको उठबस सबैको तालमेल मिलाउन निकै कठीन हुने गर्छ ।

 

– परिवारको जिम्मेवारीः विवाहपछी पति तथा पुरै परिवारको हेरचाह गर्नुपर्ने अवस्था आउँछ । घरमा आउने पाहुना हुन् या अन्य परिवारका सदस्य तथा पतिलाई हेर्नुपर्ने अवस्थामा आफ्ना इच्चा र चाहनालाई दवाउनुपर्ने हुन्छ । परिवारको स्याहार गर्दा आफ्नो हेरविचार गर्ने समय समेत युवतीहरूले नपाउँदा उनीहरू थप तनावमा पर्छन् ।

 

– दैनिकी परिवर्तनः प्राय आजकल महिलाको विवाह २० देखी ३० वर्षको उमेरसम्ममा हुने गर्छ । यो भन्दा अगाडि उनीहरूको करिअर, काम गर्ने शैली, अफिसको समय सबै तय हुन्छ तर, जब विवाहपछि पतिको घर पुग्छिन् तब यी सबै कार्यतालिका प्रभावित हुने गर्छ । उनीहरूलाई परिवारको इच्छा अनुसार आफूलाई ढाल्नुपर्ने हुन्छ । जसले उनीहरूको दैनिकीलाई परिवर्तन गर्छ ।

 

– युवतीसँग परिवारको इच्छाः कुनै पनि युवती कुनै घरको बुहारी या पत्नी भएर गएपछि उनीसँग घरका सदस्यहरुले धेरै आशा राखेका हुन्छन् । घर-परिवारको अपेक्षा अनुसार चल्न नसक्दा घरपरिवारसँगको सम्बन्धका साथै दाम्पत्य जीवन समेत तनावपूर्ण बन्न सक्छ । युवतीले घर-परिवारको इच्छा अनुसार हिडेर उनीहरूलाई खुसी राख्दै आफ्नो करिअरलाई अगाडि बढाउनु निकै ठुलो चुनौती हो ।