janmashtami1१२ भदौ, काठमाडौ । हिन्दूहरूको पावन पर्व ‘श्रीकृष्ण जन्माष्टमी’ आज देशभरि भगवान् श्रीकृष्णको पूजा–आराधना गरी श्रद्धा एवम् भक्तिपूर्वक मनाइँदैछ ।

ज्ञानयोग, कर्मयोग र भक्तियोगका प्रणेता भगवान् श्रीकृष्णको जन्म द्वापर युगमा भाद्रकृष्ण अष्टमीको मध्यरातमा भएकाले आजको दिनलाई ‘श्रीकृष्ण जन्माष्टमी’ र रातलाई ‘मोहरात्री’ भनिन्छ ।

आज मुलुकभरिका कृष्ण मन्दिरहरूमा भगवान् श्रीकृष्णको पूजा–आराधना, प्रवचन, भजनकीर्तन गर्नाका साथै विशेष गरी महिलाहरू ‘व्रत’ बसी रातभर जाग्राम बस्ने प्रचलन छ ।

पौराणिक कथन अनुसार अन्याय, अत्याचार र राक्षसी प्रवृत्तिबाट सम्पूर्ण मानवको रक्षा गर्न भगवान् विष्णुको आठौँ अवतारका रूपमा जन्मनुभएका श्रीकृष्णले आजीवन सत्यको पक्षमा रही सत्कर्मका लागि मानव समुदायलाई प्रेरित गर्नुभएको वताइएको छ ।

महाभारतका अनुसार कुरुक्षेत्रमा कौरवहरूसँगको लडाइँमा संलग्न पाण्डवहरूमध्येका अर्जुनलाई उपदेश दिने क्रममा स्वयम् उहाँका मुखारविन्दबाट व्यक्त ‘श्रीमद्भागवतगीता’ हिन्दूहरूको पवित्र ग्रन्थ मानिन्छ ।

बाल्यकालदेखि नै आफ्ना विचित्र लीला देखाउनुभएका श्रीकृष्णले पुतना, कंश, जरासन्ध र शिशुपालजस्ता दानवी प्रवृत्तिको संहार गर्नुभएको विश्वास गरिन्छ ।

सो अवसरमा खासगरी पाटनको मङ्गलबजारस्थित प्रसिद्ध कृष्णमन्दिरमा कृष्णको जन्मोत्सव मनाउन र श्री कृष्णको पूजा अर्चना गर्न भक्तजनको घुइँचो लाग्ने गर्छ ।

यसै उपलक्ष्यमा काठमाडौँका विभिन्न धार्मिक सङ्घसंस्थाद्वारा श्रीकृष्णको झाँकीसहित शोभायात्रा निकाल्ने चलन छ भने तराइका जिल्लामा श्रीकृष्णको विभिन्न रूप दर्साएको सचित्र झुला पर्व मनाउने गरिन्छ । रासस